चितवन: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्या दुरुत्साहनमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरीले दुरुत्साहन मुद्दा दर्ता गर्न रायसहितको प्रतिवेदन दिएको थियो । सरकारी कार्यालयले प्रतिवेदन अध्ययन गरेपछि रवि लामिछानेसहित ३ जनालाई आज जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो । प्रहरीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा अभियुक्तहरूको बयान सुरू भएको चितवनका पत्रकार रमेशकुमार पौडेलले जानकारी दिएका छन् । पत्रकार पौडेलका अनुसार बयान सकिएपछि थुनछेक बहस आरम्भ हुनेछ । थुनछेक बहसपछि मात्रै रबि लामिछानेलगायतलाई साधरण तारेखमा, धरौटीमा वा पुर्पक्षमा थुनामा राख्न करागार पठाउने भन्ने बारेमा आदेश दिनेछन् । 'थुनछेक बहस आज सुरू हुने सम्भावना कम छ,'उनले फेसबुकमा लेखेका छन् ।