पथरी: मोरङको कानेपोखरी गाउँपालिका ६ मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।

रमाइलो बजारमा रहेको रमाइलो डायग्नोष्टिक सेन्टरको पछाडीको भागमा रहेको शौचालयबाट सिमानामा पर्ने मेनुका दवाडीको करेसाबारीमा शिशुको शव भेटिएको हो । मंगलबार साँझ ५ बजेतिर पुरिएको अवस्थामा शिशु भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो घटना पनि प्रहरीले शिशु फाल्ने किसोरी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो डायग्नोस्पिटक सेन्टरलाई निगरानीमा राखेको छ । नजिक(संगै) रहेको डायग्नोस्टिक सेन्टरमा गर्भपतन गरिएको वा प्रसुति गराउँदा मृत भएकोले त्यँहा फालिएको आशंका स्थानीयले गरेका छन् । हाल शिशुको पोष्टमार्टमका लागि स्वास्थ्य चौकी मंगलबारे लगिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रामबहादुर ढकालले जानकारी दिए ।

सेन्टरका सञ्चालक प्रकाश धिमालले भने स्थानीय १७ वर्षीय विश्वकर्मा थरकी एकजना किसोरीलाई लिएर परिवार आएको र उनलाई ज्वरो आएका कारण डेङ्गु अथवा अरु केही भएको चेक गरिदिन भनेको बताए । ‘म मेरो क्लिनिकमा थिएँ, साँझ ७, ८ बजेतिर बाउ छोरी आएर ज्वरो आयो, वाकवाकी पनि लागेको छ डेङ्गु हो की के हो चेक गरिदिनु भनेपछि मैले सिस्टरलाई फोन गरेर बोलाएको हो । सिस्टरले रगत जाँचेपछि पिसाब चेक गर्न पर्छ भनेपछि पिशाब लिन शौचालय गएका थिए, उतै के के गरे थाह भएन । मैले त भोलीपल्ट मात्रै थाहा पाँए । रगत बगिरहेको छ भनेपछि मैले यँहा उपचार हुँदैन भनेर अन्तै लैजानु पनि भनेको थिएँ,’उनले भने ।

शिशुलाई पुरेको अवस्थामा फेला पार्ने मेनुका दवाडीको भनाइबाट भने केही आशंका उब्जिएको छ । मेनुकका अनुसार टमटर रोप्न जमिन खस्रदा बच्चाको हात निस्किएको थियो । त्यसपछि डायग्नोस्टिक सेन्टरमा गएर भन्दा बिहिबारेबाट डेलिभरी केस आएको र बच्चा मरेको जन्मिएको भन्ने सेन्टरका सन्चालक धिमालले जवाफ दिएको उनको भनाई छ । ‘यो घटनाबारे सबैतिर कुरा फैलिएपछि प्रहरी आयो, र बच्चाको आमालाई पनि प्रहरीले नै लगेको छ,’ दवाडीले भनिन् । उनी र सेन्टर सञ्चालकको वार्तालाप अनुसार त्यहाँ ती युवतीको गर्भपतन गरेको वा प्रसुति गराउँदा बच्चाको ज्यान गएकोले त्यहा पुरिएको हुनसक्ने अनुमान छ । तर सेन्टर सञ्चालक भने त्यहाँ प्रसुति वा गर्भपतन लगायतको सेवा नरहेको र आफुले त्यस्ता केस नहेर्ने दाबी गर्छन् ।

ती मृतक शिशुकी आमाको उमेर हाल १७ वर्षको मात्रै रहेको छ । आफन्तकोमा गएका बेला नचिनेका पुरुषसंग यौन सम्बन्ध भएको र आफुले सो व्यक्ति को हो भनेर हालसम्म नचिनेको जवाफ ती किसोरीले प्रहरीलाई दिएकी छिन् । वडामा घटेको घटनालाई निष्पक्ष रुपमा छानविन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने वडा अध्यक्ष खड्ग बहादुर बस्नेतले बताए । हाल शिशुकी आमाको स्वास्थ्य परिक्षण र उपचारका लागि विराटनगर लगिएको छ । घटनाको अनुसन्धान भइरहेको र दोषी पत्ता लगाएर कार्वाही गरिने इप्रका पथरीका प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।