इटहरी: इटहरी प्रहरीले एक होटल व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

इटहरीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका अर्जुन लामाकी पत्नी कल्पना लिम्बुलाई ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेत र प्रहरी हवल्दार लाल बहादुर बुढाथोकीले ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । बिहीबार इटहरीमा पीडित लिम्बुले पत्रकार सम्मेलन गर्दै भनिन्, ‘प्रहरीले तथानाम गाली गर्दै तपाईँहरुको यस्तै चाला हो भने टिक्न गाह्रो पर्छ होला भनेर धम्की आयो ।’

मोटरसाईकलमा साढे ९ बजे दुईजना प्रहरी आएर कोठा सर्च गरेको बताउँदै लिम्बुले भनिन्, ‘उहाँहरु आएर रुम सर्च गर्नुभयो, यहाँ मान्छे मारेको छ भन्दै ओकेटोकेबाट कुरा भयो ।’ लिम्बुले उक्त होटलमा मान्छे मारिएको सूचना प्रहरीकहाँ गएर आएको बताएपनि त्यस्तो नपाईएपछि प्रहरीले धम्की दिएको बताईन् । ‘प्रहरीको ओकेटोकेबाट कुरा भयो पुलिसको फेरी अर्को ठूलो टोली आएर रुम सर्च भयो,’ लिम्बुले भनिन्, ‘होटल साउले बन्धक बनाएको बताउँदै उहाँहरुले पौने घण्टामा तीनपटक रुम सर्च गर्नुभयो ।’

उनले रुम सर्च गर्नु आपत्तीको बिषय नभएको बताउँदै आँफूहरुलाई ज्यान मार्ने धम्की दिएकोप्रति आपत्तीको बिषय रहेको तर्क गरिन् । लालबहादुर बुढाथोकी नाम गरेका हवल्दारले तथानाम गाली गर्दै बन्दुक नै तेस्र्याएको उनले बताइन् । इटहरी ६ मा सञ्चालन गर्दै आएको लुम्बिनी होटलमा बिनाकारण आएर प्रहरीले ईन्काउन्टर गर्ने चेतावनी सह्य नहुने उनले बताइन् । आफूले २०५९ सालबाट होटल व्यवसाय गर्दै आएको र अहिलेसम्म त्यस्तो नभएको र अहिले प्रहरी ज्यादती बढेको गुनासो गरिन् ।

केपी ओली नेतृत्वको नेकपा पार्टीमा आबद्ध रहेका अर्जुन लामा केही समय अगाडि मात्र नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका थिए । अहिले सत्ताधारीहरुले राजनीतिक प्रतिशोध साध्ने उदेश्यले प्रहरी ज्यादती गरेको आरोप समेत लागेको छ । यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले भने प्रहरीमाथि नै दुव्र्यवहार भएको दाबी गरे । उनले टेलिफोन सम्पर्कमा भने, ‘हामीलाई दुव्र्यवहार गर्नुभएको छ उहाँहरुले, राजनीतिक धाक देखाउँनुभयो ।’

भण्डारीले दिएको जानकारी अनुसार उक्त ठाउँमा झगडा भयो भन्ने सूचना आएर सर्च गर्न जाँदा आँफू राजनीतिक पार्टीको सह–ईन्चार्ज भएको भन्दै दुव्र्यवहार गरेको बताए । ‘उहाँहरुले पत्रकार सम्मेलन गरेर केही पनि हुँदैन, मैले आमसभा नै गर्नु भनेर भनिदिएको छु,’ भण्डारीले भने, ‘जुनसुकै पार्टीको जो सुकै भएपनि मैले त सुरक्षा दिने हो, झगडा भयो भन्दा सुरक्षामा खटाएको हुँ ।’