झापा: विभिन्न पेशा–व्यवसायमा रहेर नेपालमा काम गरिरहेका भारतीय नागरिकहरुको अभिलेखीकरणका लागि झापाको दुई स्थानमा घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

नेपाल भारत मैत्री संघको पहलमा मेचीमै पहिलो पटक झापाको भद्रपुर र विर्तामोडमा घुम्ती शिविर सञ्चालन हुन लागेको हो । नेपाल सरकारले मजदुरहरुको लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गरिसकेको, प्यान नम्बरमार्फत कर्मचारीको तलव–पारिश्रमिक भुक्तानी गर्नुपर्ने प्रावधान, मजदुरको सुरक्षा विमालगायतका काममा सहजता प्रदान गर्न र नेपाल सरकारलाई मान्य हुने कागजात तयार गर्नका लागि घुम्ती शिविरको आयोजना गर्न लागिएको नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।

संघका निवर्तमान केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुर र विर्तामोडमा बसेको छुट्टाछुट्टै बैठकले मंसिरको पहिलो हप्ता घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । मंसिर ७ र ८ गते विर्तामोड र मंसिर ९ गते भद्रपुरमा सञ्चालन हुने शिविरमा आफनो नाम दर्ताका लागि भारतीय नागरिकले त्यहाँको मतदाता परिचयपत्र, पासपोर्ट, भाडामा बस्नेले स्थानीय घरधनीको विद्युतको बील र नागरिकता, आफू कार्यरत प्रतिष्ठानको सिफारिश र दुईप्रति फोटो लिएर उपस्थित हुनुपर्ने शिविर आयोजनाका लागि सहजीकरण गरिरहेका चेम्बर अफ कमर्स झापाका निवर्तमान अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

विर्तामोडका लागि चेम्बर अफ कमर्सको कार्यालय रहेको बोलबम मण्डीपछाडिको ओमकृष्ण विमलीको घरमा सम्पर्क कार्यालय रहेको छ भने भद्रपुरको झापा उद्योग संघ रहेको अग्रवालले बताए । नाम दर्ताका लागि भारतीय दूतावासका प्रतिनिधि शिविरमा आउने छन् । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय उठेपछि विराटनगरपूर्वका भारतीय नागरिकलाई अभिलेखीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता रहँदै आएकोमा यो शिविरले त्यो बाध्यतालाई कम गर्ने पनि अग्रवालले जानकारी दिए ।