झापा: प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा मुख्य जिम्मेवार शिक्षक स्वयम भएको बताएका छन् ।

आज झापाको कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल सरकारले सामुदायिक विद्यालयमा गरेको खर्च अनुसार शैक्षिक गुणस्तरमा सुधार हुन नसकेकोले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मुख्य जिम्मेवारी शिक्षकहरुकै भएको पनि उनले बताए ।

यसैगरि, मन्त्री कार्कीले बिद्यालयमा आवश्यक भौतिक पुर्वाधार बिकासको लागी २५ लाख बजेट प्रदेश सरकारको तर्फबाट यही आर्थिक बर्ष भित्रमा निकासा गर्ने प्रतिबद्धता जनाए । २०२८ साल पुष २७ गते स्थानीय बुद्धिजिबी शिक्षासेवीहरुको सक्रियतामा स्थापना भएको यस बिद्यालयमा हाल बाल कक्षादेखि कक्षा १२ सम्म ११ सय ९० जना बिद्यार्थीहरु अंग्रेजी तथा नेपाली माध्यमबाट पठन पाठन गरिरहेको शिक्षक ओमप्रकास गौतमले बताए ।