धरान: होटल र रेष्टुरेन्टहरुमा स्वच्छता कायम गर्ने र यसबारे तयार गर्नुपर्ने भौतिक पूर्वाधार सम्बन्धमा एक दिने तालिम दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह–आयोजनामा तालिम सम्पन्न भएको हो । संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षता गरेको तालिममा सहजकर्ताकोरुपमा खाद्य विज्ञ प्रमुख विक्रम लिम्बु र गगन श्रेष्ठ रहेका थिए । भान्सामा प्रयोग गर्ने औजारहरुको सरसफाई तथा प्रशोधन, खाद्य स्वच्छता, पेष्ट कन्ट्रोल, खाद्यपदार्थको भण्डारण, होटलको स्तर वर्गीकरण लगायतका विषयमा सहभागीहरुलाई श्रव्यदृश्यको माध्यमबाट जानकारी प्रदान गरिएको तालिम तथा गोष्ठी उपसमितिका संयोजक विष्णु बराल बताए ।

hotel

धरानका होटल, रेष्टुरेन्ट, होटल म्यानेजमेन्ट विद्यालय शिक्षक र विद्यार्थी गरी ६५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन संघका निमित्त महासचिव सीताराम आचार्यले गरेका थिए । धरानमा यस प्रकारका तालिम सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजना गरिनुले धरानमा रहेका होटल हरुलाई निक्कै नै सहज भएको र यस्ता कार्यक्रम भईरहनु पर्ने सहभागी बराह किचनका संचालक गंगा कालिकोटेले बताए ।