दमक : कपडाको फिक्का निलो रङको पाइण्ट र कालो रङको ज्याकेट लगाएका हेर्दा करिब २१ २२ वर्षका जस्ता देखिने युवा विदेश जाँदा ठगिए भन्दै न्यायको खोजीमा भौतारिइरहेका छन् ।

मासिक राम्रै कमाई हुने आशामा माल्दिभस जाने तयारी गर्दै गर्दा उनी ठगिएका हुन् । उनले पटक पटक गरेर एजेण्टलाई ३ लाख रुपैयाँ दिए र तर त्यसको बदालामा न उनी माल्दिभ्स जान पाए, न त अन्य कुनै देश । उनले पाए त केवल नक्कली भिसा र टिकट । झापा गौरादह २ का सवनलाल ताजपुरियाले झण्डै एक वर्षअघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर धाएका थिए । गौराहदहबाट विर्तामोडका विभिन्न म्यानपावर कम्पनीहरुमा धाउने क्रममा भद्रपुर ७ मेघा टोलका सपन भनिने खकन सरकार नाम गरेका व्यक्तिले ताजपुरियासँग माल्दिभ्स लैजाने भनेर पटक पटक गरि ३ लाख रुपैयाँ लिए । ताजपुरियालाई सिंगापुर हुँदै माल्दिभ्स लगिने भनेर काठमाडौ बोलाइयो । गत सालको शिवरात्री पर्वको अघिल्लो दिन काठमाडौ पुगेपछि दलालले होटलमा राखे । शिवारात्रीको दिन उडान हुने भनियो । हातमा भिसा र जहाज टिकसमेत भएपछि ताजपुरियाले माल्दिभ्स पुगेर पैसा कमाउने ठूलो सपना देख्नु स्वभाविक थियो । तर मध्यरातमा एक्कासि दलालको गिरोहका एक जना सदस्यले नाम नबताई आफू तिनै सरकारको साथी भएको र भोलि एयरपोर्ट नजानू, भिसा र टिकट अलि मिलेको छैन, एक दुई दिनमा हामी मिलाएर फोन गर्छौ भनेपछि छांगाबाट खसेझैं भयो ताजपुरियालाई । -ब्लाष्ट टाइम्सबाट