झापा: झापाको दमक ५ मा बसोबास गर्ने दलित समुदायका नागरिकहरुको अवस्थाबारे विस्तृत घरधुरी सर्वेक्षण गरिने भएको छ ।

वडा कार्यालयले मदानी मिडियासँगको सहकार्यमा वडाभित्र बसोबास गर्ने दलितका घरघरमै पुगेर उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार, सीप लगायतका बिषयमा तथ्याङ्क संकलन गर्न लागेको हो । तथ्याङक संकलन र सो सम्बन्धिको अध्ययन प्रतिवेदन तयार गरी पुस्तकका रुपमा प्रकाशनमा ल्याइने वडा कार्यालयले जनाएको छ । वडा भित्र करिब ४ सय घर धुरी दलित परिवारको बसोबास रहेको अनुमान गरिएको सो वडाकी दलित महिला सदस्य ख्यामकुमारी परियारले जानकारी दिइन् ।

तथ्याङक संकलन पछि वडाले दलित समुदायलाई लक्षित गरी विनियोजन गर्ने बजेट कस्ता किसिमका कार्यक्रमहरुमा खर्च गर्न उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी हुने र सोही तथ्याङकमा आधारित रहेर दलित समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरिने वडाध्यक्ष इन्द्र बहादुर गुरुङले बताए । समुदायको आवश्यकता र कार्यक्रमहरु बीचमा मेल नहुँदा दलित समुदायका लागि विनियोजित बजेट सदुपयोग हुन नसक्ने भएकाले आवश्यकता छनौटका लागि समेत तथ्याङक उपयोगी हुने वडा कार्यालयले भोसकुमार थुलुङले विश्वास व्यक्त गरे ।