धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक विरामी कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर भएका छन् ।

उच्च ज्वरो र घाँटीको दुःखाईले उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका ती विरामीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो । प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लका अनुसार तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती विरामी उपचार गराउन आएका थिए । उपचारको क्रममा विदेश गए नगएको प्रश्न गर्दा विरामी दक्षिण कोरियाबाट ५ दिन अघि मात्र नेपाल आएको खुलेको थियो । विरामी आफैले नै कोरियाबाट आफु फर्कदा केही व्यक्ति संक्रमण भइसकेको सुनेको जानकारी ३, ४ जनालाई उता भइसकेको थियो भन्ने कुरा गर्नुभयो,’डा.मल्लले भने,‘हामीले तत्काल मेडिसिन विभागलाई खबर गर्यौं । विरामी आफैले पनि कतै मलाई कोरोना भाइरस संक्रमण त भएन भनेर आशंका जनाए पछि टेकु रिफर गर्यौं ।’

ती विरामी बिहिबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका थिए । उनलाई राती ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको थियो । ‘यो आशंका मात्र गरिएको हो, तथापी यसबारेमा मन्त्रालयमा पनि जानकारी गराइसकेका छौं,’डा.मल्लले भने ।

वीपीमा र्यापिड रेस्पोन्स कमिटि गठन

korona-bp

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि र्यापिड रेस्पोन्स कमिटि गठन गरिएको छ । भाइरसको संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पुर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरिएको हो ।

कमिटिको अध्यक्षमा अस्पताल निर्देशक डा. गौरीशंकर साह छन् भने सदस्यहरुमा सहायक अस्पताल निर्देशक डा.विकास साह, इर्मेजेन्सी इञ्चार्ज डा.ज्ञानेन्द्र मल्ल, एनेस्थेसियोलोजी विभागका डा.कृष्णा पोखरेल, माइक्रोबायोलोजी विभागका डा.नारायणराज भटराई, कम्युनिटी मेडिसिन विभागका डा.विजय खनाल रहेका छन् ।

यस्तै, इएनटि विभागका डा.दिपक पौडेल, पेडियाक्ट्रिक्स विभागका डा.मुकेश भट्ट, गाइने विभागका डा.मनोज साह, इन्टरनल मेडिसिन विभागका डा.रोशन क्षेत्री सदस्य छन् भने सदस्य सचिवमा अस्पताल प्रशासन महाशाखाकी सुपरभाइजर कमला लिम्बु रहेकी छिन् ।