ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स यौन धन्दाले बदनाम इटहरी सुध्रने प्रयासमा शीर्षकको समाचार छापिएको छ । कुनै बेला इटहरीको बसपार्क पुग्नेहरुलाई यौनकर्मी महिलाहरुले सिधै यौन सम्पर्कका लागि प्रस्ताव गर्थे । त्यसैले बसपार्क पुग्नेहरुलाई पनि त्यस क्षेत्रका होटल व्यवसायीहरुले राम्रो नजरले हेर्दैनथे । तर त्यो बदनामबाट इटहरी बसपार्क अहिले सुधारोन्मुख अवस्थामा छ । कुनै बेला खुलेआम यौनधन्दाको प्रस्ताव गर्ने यौनकर्मी महिलाहरु भाभाभाग भएका छन् । सञ्जाल फैलाएर हुने यौनधन्दाका कारण देशभर बदनाम भएको इटहरी सुध्रने प्रयास गर्दैछ । त्यसबेला कन्ट्याक्टमा युवती राखेर यौनधन्दा चलाउने गिरोह नै सक्रिय रहेको इटहरी केही वर्षदेखि सुध्रिदै छ । इटहरी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष तथा होटल व्यवसायी बाबुराम गिरी बसपार्क सुध्रिएको बताउछन् । इलाका प्रहरी कार्यालय इटहरीका तत्कालिन डिएसपी विनोद शर्मा रहेका बेला इटहरीको यौनधन्दा ध्वस्त भएको हो । काठमाडौं, हेटौडा, बुटवल, पोखरादेखिका युवतीहरु बोलाएर यौनधन्दा चलाउनेहरु पक्राउ परेसँगै यौनधन्दा ध्वस्त भएको हो । त्यसपछि यौनधन्दा सञ्चालन गनेहरु इटहरीबाट अन्यत्र सरे भने सञ्जालसमेत तोडियो ।

आजको ब्लाष्ट टाईम्समा झापामा आत्महत्या भयावह बन्दै शीर्षकको अर्को समाचार पनि छापिएको छ । झापामा आन्महत्याको दर भयावह रुपमा बढ्दै गएको प्रहरी तथ्याङ्कले जनाएको छ । आत्महत्या गर्नेमा अधिकांश किशोर अवस्थाका युवायुवती रहेको बताइएको छ । प्रहरीले आत्महत्याविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्याको दर बढ्दै जानु समाजका लागि चिन्ताको विषय भएको प्रहरीको भनाई छ । पछिल्लो समय पारिवारिक अस्थिरता, साथीहरुबाट अलग हुने, अनुशासनमा देखिएका समस्या, सामाजिक सञ्जाल, स्कुलमा आउने परिणाम र अध्ययनमा हुने असफलताका कारण पनि आत्महत्याका घटना हुने गरेको पाइएको छ । तीन वर्षका तुलना गर्दा झापामा हेरक वर्ष आत्महत्या गर्नेको संख्या बढेको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक वर्ष ०७३,७४ मा २ सय ३० जना, ०७४,७५ मा २ सय ४७ जना, ०७५,७६मा २ सय ८८ र चालू आर्थिक वर्षको माघसम्म मात्र ६७ पुरुष र २४ महिला गरी ९१ ज्नाले आत्महत्या गरेका छन् । बढ्दो आत्महत्या प्रहरीलाई चुनौती बन्दै गएपछि आत्महत्या न्यूनीकरण गर्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा प्रदेश एकलाई अपाङ्गतामुक्त बनाइने शीर्षकको समाचार छापिएको छ । कुनै पनि प्रकारको अपाङ्गता प्रदेश १ मा हुन नदिन विषेश कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालित सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रदेशमा २८ स्थानीय तहमा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ,भोजपुर र संखुसभाका ३१ स्थानीय तहमा कार्यक्रम शुरु भएको छ । यस कार्यक्रमले प्रत्येक स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिको सूची तयार गर्ने र उनीहरुलाई समाजमा पुनस्थापना गर्नाका साथै अपाङगता भएका बालबालिका जन्मन नदिन पनि सचेतना जागृत गराउनु अभियानको लक्ष्य हो । मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग वृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र तिनका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र स्थानिय तहका सेवा प्रदायक संस्थाको सदृडिकरणमा सहयोग पुर्याउने अभियानको उद्देश्य हो ।