पथरी : होलीको दिन कुटपिटबाट घाइते भएका पथरीशनिश्चरे १० का एक युवाको मृत्यु भएको छ ।

होलीको दिन भएको सामान्य विवादका क्रममा स्थानीय युवाको कुटपिटबाट गम्भीर घाइते भएका पथरीशनिश्चरे १० का दीपक पयाङ्गु लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
फागुन २७ गते होलीको समयमा भएको सामान्य विवादका क्रममा स्थानीय दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बुको समूहले लिम्बु माथि आक्रमण गरेका थिए । घाइते भएका लिम्बुको स्थानीय पथरी बजारको एक क्लिनिकमा उपचार गरिए पनि अवस्था सामान्य नभएको भन्दै मेडिकलले विराटनगरको अस्पतालमा रेफर गरेको थियो । विराटनगरको विराट अस्पतालमा उपचाररत अवस्थामै उनको बिहीबार बिहान ज्यान गएको हो ।

उनलाई कुटपिटमा संलग्न मध्ये मुस्कान राईलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए । अपराधीको खोजी भइरहेको र प्रहरीले उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिने प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिएका छन् ।

यता कुटपिटबाट मृत्यु भएका लिम्बुको शव अस्पतालबाट निकाल्न समस्या भएको छ । उनको उपचारका क्रममा करिब ५ लाख रुपैयाँ खर्च भइसकेको र अस्पताललाई सो बराबरको पैसा तिर्नु पर्ने देखिएकाले उनको शव अझै अस्पतालमै रहेको उनी दिदी मनु लिम्बूले जानकारी दिएकी छन् ।