धरान : सरकारले शुक्रबार देखि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने भनिरहदा एक नम्वर प्रदेशको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार नमुना परिक्षण गरिने भएको छ ।
कोरोना परिक्षणका लागि केन्द्रिय प्रयोगशालामै निर्भर हुनुपर्ने अवस्थामा उपत्यका बाहिर प्रदेश १ को धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताएका छन् ।
कोरोना भाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने सरकारले जनाएको छ ।
पहिलो चराणमा तीन स्थानमै बीस देखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिईएका छन् ।

जस अनुसार बीपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणको लागि ल्याव तयारी भईसकेको बताईएको थियो । परिक्षण सामाग्री आउने वित्तिकै परिक्षण हुने बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताएका थिए ।

प्रतिष्ठानमा कोरोना परिक्षणको लागि विहिबार किट आईपुगेको भए पनि अरु थप परिक्षण गर्दा प्रयोग हुने सामाग्री आई नपुगेकोले कोरोना परिक्षण हुन सकेको थिएन । तर आज शुक्रबार साँझ सम्ममा नमुना परिक्षण गर्ने प्रदेश एक सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख डा. सुरेश मेहेताले कपुरीलाई जानकारी दिएका छन् । उनका अनुसार कोरोना परिक्षणको लागि किट केन्द्र सरकारले पठाई दिए पनि परिक्षणमा नेगेटिभ र पोजेटिभ छुट्टाउने केमिकल नआएकोले परिक्षण हुन सकेको थिएन ।

तर आज शुक्रबार सवै सामाग्री आईपुग्ने भएकोले साँझ सम्ममा प्रतिष्ठानमै कोरोनाको नुमना परिक्षण हुनेछ । कोरोना परिक्षणको लागि प्राविधिक केन्द्र सरकारले पठाएको भनिए पनि प्रतिष्ठानकै माईक्रोबायोलोजी विभागका डा. बसुधा खनाल र डा. नारायण भट्टराईको टिम तयारी अवस्थामा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।