धरान  :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एनआइसि एसियामा भएको बैंक खाताबाट कारोबारै नभएको व्यक्तिको नाममा चेक बनेर साटिएको पाइएको छ । घटनाबारे भदौ अन्तिम साता मात्र थाह पाएको प्रतिष्ठान व्यवस्थापनले आन्तरिकरुपमा घटनाबारे छानबिन गरिरहेको छ । बैंकले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ ।
उक्त चेक प्रतिष्ठानसँग कारोबारै नभएको पर्वत जिल्लाका जीवन पौडेलको नाममा बनेर साटिएको छ । चेकमा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र आर्थिक प्रशासन महाशाखाकी मेनेजर रुपा सिंघान्ची अग्रवालको सही छ । तर, दुवैले उक्त सही आफ्नो नभई फर्जी भएको दाबी गरेका छन् । यो चेक गत बैशाख २३ गते एनआइसि एसियाको मोरङको इन्द्रपुर शाखाबाट साटिएको देखिन्छ । प्रतिष्ठानको एनआइसि एसियामा रहेको खाताबाट चेक नं ००१६७५०६५० मार्फत पौडेललाई ५ लाख ५० हजार रुपैया भुक्तानी दिइएको छ । तर, पौडेलसँग प्रतिष्ठानको कुनै पनि कारोबार भएको रेर्कड छैन ।
चेकमा सही गरेका रजिष्ट्रारलाई उपकुलपतिले स्पष्टीकरण लिएको स्रोतको भनाई छ । रजिष्ट्रारले पनि आफु मातहतको आर्थिक प्रशासन प्रमुख सिन्घाचीलाई त्यसबिषयमा स्पष्टीकरण लिएका छन् । प्रतिष्ठानमा रजिष्ट्रारलाई ५ लाखमाथिको रकम भुक्तानी दिने अधिकार छैन । त्यसैले, पौडेलको नाममा बनेको ५ लाख ५० हजारको चेकमा पनि रजिष्ट्रारलाई हस्ताक्षर गर्ने वा भुक्तानी दिने अधिकार थिएन । पौडेलसँग कारोबार भएपनि ठुलो रकम भुक्तानी गर्नुपर्दा व्यक्तिको नाममा चेक बनाउन मिल्दैन । सम्बधित फर्म वा संस्थाको नाममा मात्र चेक बनाउनुपर्ने नियम छ । तसर्थ, रजिष्ट्रार र आर्थिक महाशाखा प्रमुखको हस्ताक्षर भएको चेक साटिएको घटना आफैमा रहस्यपुर्ण बनेको छ । रजिष्ट्रार र आर्थिक महाशाखा प्रमुख दुवैले चेकमा भएको सही आफुले नगरेको दाबी गरेका छन् । ‘चेकको बिषयमा मैले पनि बुझ्दैछुँ । आर्थिक महाशाखा प्रमुखलाई सोधेको छुँ,’रजिष्ट्रार श्रेष्ठले भने,‘फर्जी सही गरेर इन्द्रपुर शाखाबाट चेक साटेको रहेछ ।’
पौडेलको नाममा किन चेक काटियो वा भुक्तानी दिइयो भनेर खर्चको भौचर वा टिप्पणी पनि प्रतिष्ठानमा भेटिएको छैन । यसले गर्दा घटना नियोजितरुपमा भएको भएको हुनसक्ने आशंका जन्माएको छ । प्रतिष्ठान स्रोतले भन्यो,‘यसबारेमा विस्तृत छानबिन हुनुपर्छ, जसको गल्तीको उसलाई कारबाही होस । यहाँ तल्लो तहका कर्मचारी यो घटनामा मुछिएको भए उहिल्यै कारबाही भइसक्थ्यो ।’ स्रोतका अनुसार भुक्तानी पाउने भनिएका पौडेलसँग बैंकको सम्पर्क भइसकेको छ । पौडेलले प्रतिष्ठानबाट आफुले कुनै चेक नलिएको र नसाटेको जवाफ दिएकोे बैंक निकट स्रोतले जानकारी दिएको छ । चेक साट्दा बैंकको इन्द्रपुर शाखामा पौडेलको नागरिकताको फोटोकपी राखिएको छ । उक्त फोटोकपीमा बैंकले सक्कलीसँग रुजु गरेको उल्लेख गरेको छ भने चेकमा रजिष्ट्रार र सिंघान्चीले गरेको सही पनि रुजु गरेको देखिन्छ । चेकको पछाडि भने हस्ताक्षर गर्नुपर्ने ठाउँमा अग्रेजीमा २ पटक जीवन मात्र लेखिएको छ । ‘जसको नाममा चेक साटियो, उसले केही थाह छैन भन्यो । त्यसो भए चेक कसरी बन्यो, र कसरी साटियो ? कतै बैंकका कर्मचारीको पनि मिलेमतो त होइन ?’स्रोतले भन्यो ।
एनआइसिको धरान शाखा प्रमुख दिवाकर भटराईले भने घटना आफ्नो शाखामा नभएको तर मौखिकरुपमा प्रतिष्ठानबाट जानकारी पाएको बताए । ‘के भएको भनेर माथिबाटै हेर्ने काम भइरहेको छ । यो बारेमा मैले केही भन्न मिल्दैन । बैंकले आफ्नो पाटोबाट हेर्छ, बीपीले पनि हेरिरहेकै होला,’उनले भने । प्रतिष्ठानले आफ्नो खर्च रुजु गर्ने क्रममा बैंकले चेकबाट रकम भुक्तानी(खर्च भएको)देखाउने तर प्रतिष्ठानमा खर्च नदेखिए पछि मात्र घटना उजागर भएको थियो । त्यसबिषयमा उपकुलपतिले रजिष्ट्रारलाई स्पष्टीकरण लिएका थिए भने रजिष्ट्रारले सिंघान्चीलाई स्पष्टीरण लिएका थिए ।
सिंघाञ्चीले रजिष्ट्रारलाई लेखेको पत्रमा उक्त चेकमा भएको आफ्नो हस्ताक्षरमा शंका लागेकोले प्राविधिकरुपमा परीक्षण गरेर यकिन गर्न आग्रह गरेकी छिन् । उनको स्पष्टीकरण पत्रमा भनिएको छ,‘मेरो र श्रीमान् रजिष्ट्रार ज्युको हस्ताक्षरबाट विथ ड्र भएको रकमको सन्दर्भमा सो चेकको हस्ताक्षरमा मलाई शंखा महसुस भएकोले हस्तक्षर टेक्निकली भेरिफाई गराई यकिन गर्न आवश्यक भएकोले श्रीमान्मा हस्ताक्षर जाँच गर्ने प्रक्रियाको लागि अनुरोध गर्दछुँ ।’ प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले घटना आन्तरिक भएको भन्दै विस्तृत खुलाउन चाहेनन् । यद्यपी आफुले त्यसबिषयमा बुझ्ने काम गरिरहेको प्रतिक्रिया दिए । ‘यो आन्तरिक कुरा हो । के भएको हो भनेर बुझ्ने काम गरिरहेको छुँ । अहिले नै केही नबोलांै,’उनले भने । 1img 2img

साभारः नागरिक पुर्वेली
तस्बिर :
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक भवन ।
र,
जीवन पौडेलको नाममा काटिएको चेक ।