सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । गएको दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनियाँ स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ ।
गएको अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो ।
गएको साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो ।
विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो । कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन ।
सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ । मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ ।
दक्षिण कोरियाको अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएसँगै शेयर बजारमा पनि प्रभाव परेको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा शून्य दशमलब ५ प्रतिशतले कमी आएको छ ।
गएको साता एप्पलले अक्टोबर–डिसेम्बरको अवधिमा ८४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको बताएको थियो । वर्षको शुरुमा एप्पलले यस अवधिमा ८९ देखि ९३ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । एप्पलले चीन र अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा आएको मन्दीले कम्पनीको आम्दानीमा प्रभाव परेको जनाएको छ ।
–रासस