विर्तामोड : मानिसका जीवन जिउने फरक फरक सीप, कला हुन्छन । तिनै कला र सीपलाई सदुपयोग गर्दै मानिस अघि बढ्छ । मानिलाई सुन्दर, चिटिक्क बनाउने पनि सीप र कला हुन्छ । हामी सुन्दर युवती देख्दा आहा कति राम्री भन्छौ । तर, ती युवतीलाई चिटिक्क पार्ने पर्दा पछाडिका गुमनाम पात्रबारे अनभिज्ञ रहन्छौ ।

महिलालाई सुन्दरतालाई अझ सुन्दर बनाउन ब्युटिसियनको भुमिका महत्वपुर्ण हुन्छ । यही भुमिकामा छिन्,उमा कटुवाल (भण्डारी) । २०६७ सालमा घरेलु तथा साना उद्योग कार्यालय झापावाट सौन्दर्य कलाको आधारभुत तालिम लिएकी थिइन् । त्यसपछि ब्युटिसियन बन्ने सोच वनाएकी उनले डिप्लोमा तथा एड्भान्स कोर्ष पनि लिइन् । २०६९ सालवाट ब्यवसायिक रुपमा सौन्दर्य ब्युटिपार्लर खोलेर ब्यवसायिक यात्रा सुरु गरिन् । उमाले आफ्नो कार्य क्षमता र दक्षताको विकास गरी पार्लरसँगै तालिम सेन्टरको रुपमा आफ्नो ब्यवसायलाई अघि बढाएकी छिन् ।

सुरुमा १५ जना विद्यार्थी वाट सिप सिकाउन सुरु गर्नु भएकी उमाले वेसिक कोर्ष, डिप्लोमा, स्पेसल, मेकअप र वैदेसिक रोजगारमा जान चाहनेहरुका लागि पनि विशेष कोर्ष गराउछिन् । विभिन्न संघ सँस्थाको आयोजनामा सौन्दर्य कला सम्वन्धि तालिम झापा, मोरङ, इलामसम्म पुगेर सञ्चालन गर्छिन् । उमाले सिटिइभिटीबाट लिइने स्किल टेस्ट परीक्षामा लेवल टु पनि पास गरिन् । उनी भन्छिन्,“सुरुमा त म आफैँले पनि यसरी प्रोफेसनल रुपमा ब्युटिसियन वन्छु जस्तो लागेको थिएन । सुरुमा दैनिक २–४ जना नारी सेवाग्राही आउनुहुन्छ, उहाँहरुबाट नै ब्यवसाय चलाउला भन्ने सोचेकी थिएँ ।”

उमाको यात्रा कुसल ब्यटिसियन, प्रशिक्षककोरुपमा मात्र छैन, विभिन्न संघ सँस्थाले आयोजना गरेको तालिमको स्किल टेष्ट गर्ने सिलसिलामा समेत झापा वाहिर पनि पुग्छिन् । २ छोरा र श्रीमानका साथ ४ जनाको परिवार छ । श्रीमानको आफ्नै कृषि फार्म छ । उनका २ छोराहरु मध्ये जेठा छोरा विविए अध्ययन गर्दै छन भने कान्छा एसइई दिदैछन् । “परिवारको सहयोगको कारण नै म यहाँसम्म आइपुगेको हो,” उनले भनिन्,“कहिले कही श्रीमानको पकेट खर्च र छोराहरुको स्कुल खर्च पनि मेरै कमाइवाट भर्ने गरेकी छु ।” श्रीमानले पनि हरेक काममा सहयोग गर्ने र आफुलाई बुझ्ने उमाको भनाई छ ।

हाल उमाको पार्लरमा ४२ जनाले सीप सिक्दैछन् भने सुरु देखि हालसम्म धेरैले सीप सिकेर आफ्नै ब्यवसायको सुरुवात पनि गरेका छन् । उनले आफुले सिकाएको विद्यार्थीहरुबीच वेहुली श्रृङ्गार प्रतियोगिताको तयारी पनि गरिरहेकी छिन् । “यहि चैत्र २५ गते विर्तामोडको आदर्श ब्याङ्क्वेटमा तयारी गर्दै छु,”उमाले भनिन् । उनी सौन्दर्य कला ब्यवसायी संघ विर्तामोडकी अध्यक्ष समेत हुन् । सफल महिला उद्यमीको परिचय बनाएकी उमाको संघर्ष र सफलता उद्यमशिल बन्न चाहने हरेक महिलाको लागि उदारणीय बनेको छ ।