मुम्बई : राजस्थानकी सुमन राव फेमिनाले मिस इन्डियाको ताज पहिरिएकी छिन् ।
शनिबार मुम्बईको सरदार बल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित एक भव्य कार्यक्रममा सुमनले ताज पहिरेकी हुन् । सीए अध्ययनरत २० वर्षीया सुमन थाइल्याण्डमा आयोजना हुने मिस वल्र्डमा २०१९ भारतको प्रतिनिधित्व गर्नेछिन् । उनले सञ्चारकर्मीहरुसँग भनिन्, “जब तपाई आफुलाई जीवनमा एक विशेष लक्ष्य लिएर समर्पित गर्नुहुन्छ, तब तपाईको शरिरको नशानशामा जितको लागि त्यो दिशामा काम गर्न सुरुगरिदिन्छ ।”

त्यस्तै सोही प्रतियोगितामा छत्तीसगढकी शिवानी जाधव व्यूटी फेमिना मिस ग्रैण्ड इन्डिया तथा विहारकी श्रेया शंकर मिस इन्डिया युनाईटेड कान्टिनेन्टस भइन् । कार्यक्रममा बलिउड कोरियोग्राफर रेमो डिमुजा, अभिनेत्री हुमा कुरैसी, चित्राँगदा सिंह, फेसन डिजाइनर फल्गुनी सेन पीकक, भारतीय फुटबलर सुनील क्षेत्रीलगायत सहभागी थिए ।
प्रतियोगिताको बीचमा बलिउडका कलाकार कैटरिना कैफ, विक्की कौशल, मौनी राय लगायतले नृत्य प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । फिल्म निर्माता करण जौहर तथा अभिनेता मनीष पालले कार्यक्रमको सहजीरण गरेका थिए ।







































































