धरान: एन्फा एकेडेमी सञ्चालक समितिको आयोजनामा धरानमा शुक्रबारदेखि प्रदेशस्तरीय प्रथम एन्फा एकेडेमी कप अण्डर १४ फुटबल प्रतियोगिता हुने भएको हो ।

धरान १७ स्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरको मैदानमा असोज ३ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका क्लबहरुको एकेडमीमा प्रशिक्षणरत बाल खेलाडीहरुको सहभागिता हुनेछ । एन्फाले जिल्ला जिल्लामा ग्रासरुट कार्यक्रम चलाएको र ती प्रशिक्षणहरु धेरै बाल खेलाडीहरु भएकोले एकेडेमीको स्वरुपमा लैजाने अवधारणा अनुसार यो प्रतियोगिता आयोजना गरिने एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष एवं आयोजक समितिका अध्यक्ष किसोर राईले बताए ।

प्रतियोगितामा एन्फा एकेडेमी धरान, राष्ट्रिय जागृती क्लब फुटबल एकेडेमी(इटहरी), न्यु स्टार फुटबल एकेडेमी(भरौल), एम्ब्रीय क्लब एकेडेमी(मोरङ), मेची नेत्रालय(झापा), महेन्द्र फुटबल एकेडेमी(दुहबी), धरान फुटबल क्लब एकेडेमी, विराटनगर फुटबल एकेडेमी, मार्गादेवी युवा क्लब(धनकुटा) र उदयपुर जिल्ला फुटबल टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । ‘विस्तारै सबै क्लबहरुले एकेडेमीको स्वरुपमा जानुपर्छ, अर्काे बर्षदेखि हामी एन्फाले पनि सपोर्ट छौं,’उनले भने ।

anfa-academy1

प्रतियोगिताको विजेताले नगद ५० हजार पाउनेछ भने उपविजेताले २५ हजार पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउनेछ भने सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवर्ड र कोचले जनही ३ हजार पुरस्कार पाउनेछ । कुल ११ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा एन्फा, प्रदेश सरकार, विभिन्न स्थानीय तह, संघसंस्था एवं शुभचिन्तकहरुबाट सहयोग हुने आयोजकले जानकारी दिएको छ ।

एन्फाले धरानमा २६ जना बाल खेलाडीहरु राखेर एकेडेमी सञ्चालन गरिरहेको छ । यो प्रतियोगितामा अन्य जिल्लाका क्लबहरुले पनि एकेडेमीको स्वरुपमा नै उमेर समुहको खेलाडीहरु सहभागी गराउने आयोजकले जनाएको छ । धरानमा ए र बि स्तरका लाइसेन्स भएका प्रशिक्षकद्धय सुमन श्रेष्ठ र मनिष तिम्सिनाले प्रशिक्षण दिइरहेका छन् ।

anfa-academy