धरान : धरानमा शुक्रबारदेखि सुरु भएको एक नं. प्रदेश स्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा एकेडेमी धरानले विजयी सुरुवात गरेको छ ।
शुक्रबार धरान–१७ स्थित एन्फा एकेडेमीको फुटबल मैदानमा भएको उद्घाटन खेलमा एन्फा एकेडेमी धरानले राष्ट्रिय जागृती फुटबल एकेडेमीलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । धरान जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुदेखि नै एन्फा एकेडेमी धरानले इटहरीलाई दबाबमा राखेको थियो । म्यान अफ द म्याच घोषित भएका आयुष गुरुङ एक्लैले धरानकालागि ४ गोल गरे भने विषन ओझाले ह्याट्रिक गरे त्यस्तै असिमजंग कार्कीले २ गोल गरे भने सक्षम सिन्तेले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा ६ गोल गरेको धरानले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । शनिबार न्यू स्टार फुटबल एकेडेमी भरौल र एम्ब्रीय क्लब एकेडेमी मोरङबीच पहिलो खेल र मार्गदेवी युवा क्लब धनकुटा र विराटनगर फुटबल एकेडेमीबीच दोस्रो खेल हुने छ । असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।
फुटबलकर्मीको जीवनशैली उच्चहुनुपर्छः किशोर राई
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतियोगिताको आयोजक एन्फा एकेडेमी सञ्चालन समिति धरानका अध्यक्ष किशोर राईले अहिलेको समयमा फुटबलमा लागेका फुटबलकर्मीहरुको उच्च जीवनशैली हुने गरी अर्थाेपार्जन गर्ने वातावरण बन्नुपर्ने बताए । एन्फाका मानार्थ उपाध्यक्ष समेत रहेका राईले फुटबलमा लागेका विदेशीहरुको जीवनशैली उच्च भएको भन्दै विस्तारै नेपाली फुटबलकर्मीहरुको जीवन त्यस्तै हुने आशा व्यक्त गरेका छन् । उनले त्यसकालागि एन्फा र नेपाल सरकारले फुटबलको विकास र प्रतिभावान खेलाडी जन्माउन काम गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि धरान नगरपालिकाका पूर्व उपमेयर मिन सुब्बाले यु–१४ का खेलाडीहरु भविष्यका नेपालका राष्ट्रिय खेलाडी हुने भन्दै अहिलेदेखि नै खेलाडीले स्तरीय प्रतियोगिता खेल्न पाउनु राम्रो अवसर भएको बताए । कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य दिपक राईले धरानमा भएको एन्फा एकेडेमी स्तरीय प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्ने भन्दै एन्फाको बैठकमा आफुले यसबारे ध्यानाकर्षण गराउने बचनबद्धता गरेका थिए ।