ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीमा धुलो विरुद्ध चक्काजाम” शीर्षकको समाचार छापिएको छ । इटहरीको मुख्य चौक धुलोको कारण हिँडन सक्ने अवस्थामा नभएको भन्दै इटहरीबासीले केहीबेर ढाट लगाएर मुख्य हाईवे अवरुद्ध गरेका छन् । इटहरी विराटनगर लाइनका स्थानीयले धुलोका कारण सास्ती खेप्नुपरेको भन्दै हाईवे अवरुद्ध गरेका हुन् । जोगवनी किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्यप्रति जनताको प्रश्नैप्रश्न छ । खाल्डाखुल्डी सडकको कारण हाईवेमा हिँडन सक्ने अवस्था नभएको भन्दै सडकमै बाँस लगाएर बाटो अवरोध गरेका थिए । इटहरीमा धुलोका कारण हिँडन समस्या हुँदासमेत सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै केहीबेर मुख्य हाईवे नै अवरुद्ध भएको थियो । ६ लेन सडक निर्माण भइरहेको सडक अति व्यस्त भएपनि सडकमा रहेका खाल्डाखुल्डी र धुलोले समस्या बनाएको कारण आफुहरु सडकमा आउनुपरेको स्थानीय रविन लिम्बुले बताए ।

औजार : आजको औजार दैनिकमा “पीडितलाई झुठा मुद्दा, खारेज गर्न दलितहरुको ज्ञापन” शीर्षकको समाचार छापिएको छ । प्रभावकारी अनुसन्धान गरेर न्याय दिनुपर्ने छुवाछुत पीडितलाई नै पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलितहरुले खारेज गर्न प्रशासनमा ज्ञापन बुझाएका छन् । सार्वजनिक होटलमा चिया पिउन जाँदा सानो जातको भनेर छुवाछुतको व्यवहार भोग्न बाध्य भएका डिमुने कामीलाई प्रहरीले पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलित अगुवाहरुले शुक्रबार जिल्ला प्रशासन मोरङमा ज्ञापन बुझाएका हुन् । झापा, मोरङ र सुनसरीबाट गएका दलित अगुवाहरुले सहायक सिडिओ सुरेश सुनारलाई ज्ञापन पत्र बुझाउदै मोरङको पथरी शनिश्चरे नपा ४ का ६५ वर्षीय रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका होटल सञ्चालक ४५ वर्षीय टलकबहादुर पाण्डेविरुद्ध छुवाछुत गरेको भन्दै किटानी जाहेरी दिने सोही नपा ४ बस्ने ६० वर्षीय डिमुने कामीलाई नै प्रहरीले झुठो अभद्र व्यवहार मुद्दा लगाएकोले खारेज गर्न माग गरे ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विराटनगरमा पनि निगमलाई नाफा” शीर्षकको समाचार छापिएको छ । अमलेखगञ्ज डिपोबाट डिजेल आउन थालेपछि ढुवानीमा विराटनगर डिपोलाई पनि फाइदा भएको छ । भारतको बरौनी भन्दा अमलेखगञ्जको दुरी कम पर्ने हुँदा निगमलाई ढुवानी खर्चमा बचत हुने गरेको हो । आयल निगमको विराटनगर डिपोलाई मात्रै ढुवानी खर्चमा दैनिक सरदर ३ लाख रुपैयाँ बचत हुने गरेको छ । विराटनगर डिपोका प्रमुख अशोक शाहका अनुसार अमलेखगञ्जबाट डिजेल ढुवानी गर्दा एक ट्याङकरमा सरदर १२ हजार रुपैयाँ ढुवानी खर्चमा बचत हुने गरेको छ ।