इटहरी: ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक(डिएसपी) धर्मराज भण्डारीलाई विभिन्न मुद्दामा पक्राउ गरेका व्यक्ति छुटाउन धेरै प्रेसर आउछ । उनले त्यसरी आउने प्रेसरबारे गुपचुप राख्न सकेनन् ।

उनले एक कार्यक्रमको क्रममा दबाब आउने कुरा खुलेरै बताए । विभिन्न उच्च ओहदाका व्यक्ति तथा राजनीतिक दबाब प्रहरीलाई आउने सामान्य घटनाक्रम नै हो । तर, प्रहरी अधिकृतले यसरी सार्वजनिक समारोहमा त्यस्तो दबाब आएको बिषयमा कमै मात्र अभिव्यक्ति दिन्छन् ।

एक कार्यक्रममा डिएसपी भण्डारीले भने,‘केही साताअघि मात्र मैलै जुवा खेलिरहेको ३ ठाउँमा समाते,मान्छे पक्रेर ल्याएपछि अत्यन्त धेरै प्रेसर आयो ।’ उनले जुवाको केसमा मात्र नभएर प्रायः जसो थुप्रै केसमा प्रेसर आउने बताए । ‘यो पटक तीन वटा जुवाको केसलाई थुन्दा यति धेरै प्रेसर आयो, त्यो रात कालो रात जस्तै भयो,’उनले भने ।

मान्छे छुटाइ दिनका लागि प्रेसर धेरै आउँदा रातमा सुत्न समेत नपाईने उनको अनुभव छ । ‘तपाईहरु शिष्ट र रचनात्मक भएर आउँनुहोस्, हामीले गलत गर्ने कसैलाई पनि छाड्ने वाला छैनौ,’उनले भने,‘कानुन बिपरीत काम गर्ने मानिसलाई थुन्दा प्रेसर धेरै आउँछ, सानोतिनो पुलिसको मुटु फुट्छ ।’ उनले आफ्नो संलग्नतामा घुस र नियम विपरीत काम हुन नदिने ठोकुवा गरे ।

इटहरी सभ्य सहर हुन आवश्यक रहेको पनि उनले बताए । ‘इटहरीमा लागूऔषध प्रयोगकर्ता ज्यादा छन्, हामीले सर्वे गरिरहेका छौं,’उनले भने,‘इटहरीमा लागूऔषध कारोबारी छन्, अब इटहरीबासी सचेत र सभ्य हुन जरुरी छ ।’

प्रहरीलाई साधनको अभाव

प्रहरीलाई कुनै पनि घटनाबारे सूचना गर्दा ढिलो पुग्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यसबो उनले इलाकाको गाडी खराब भएकोले समस्या भएको प्रष्टीकरण दिए ।

आफुले पनि तरहरा प्रहरी चौकीको गाडी प्रयोग गर्दै आइरहेको खुलाउदै डिएसपी भण्डारीले नयाँ गाडी खरीद गर्न अथवा भएको गाडीलाई मर्मत गर्न गृहमन्त्रालयदेखि मुख्यमन्त्री कार्यालय प्रदेश १ मा सम्पर्क गरेको तर कतैबाट चासो नदेखाएको गुनासो गरे ।

‘हामी रातको १२ बजेसम्म खटिरहेका हुन्छौं,’उनले भने, ‘गाडी बिग्रिएर हैरान छ, मुख्यमन्त्री देखि गृह मन्त्रालयसम्म गाडी बिग्रिएको सूचना भईसकेको छ ।’ उनले तरहरा प्रहरी चौकीको गाडी आँफूले प्रयोजन गरेकाकारण तरहरामा गाडी नभएको बताउँदै रातको समयमा मोटरसाईकलबाट गस्ती गर्ने गरेको बताए ।