औजार : आजको औजार दैनिकमा “बुढासुब्बा गोल्डकप फागुनमा हुने” शीर्षकको समाचार छापिएको छ । मोफसलमा आयोजना हुने गोल्डकपहरु कहिले आयोजना हुने भन्ने अन्यौल भइरहेको बेला एन्फाले नयाँ तालिका सार्वजनिक गरेको छ । मंगलबार एन्फाले सार्वजनिक गरेको तालिका अनुसार यसवर्षको बुढासुब्बा गोल्डकप फागुन ८ गतेदेखि १७ गतेसम्म गर्न भनेको छ भने सोही मितिमा बुटवलको तिलोत्तमा गोल्डकप गर्न भनेको छ । बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले एन्फाले तोकिदिएको समयमा नै गोल्डकप आयोजना गर्ने संकेत गरेका छन् । एन्फाले एक्कासी ‘ए’ डिभिजन लिग सुरु गरेपछि मोफसलमा हुने गोल्डकपको आयोजना अन्यौल भइरहेको थियो । एन्फाले विभिन्न स्थानमा हुने २४ वटा गोल्डकप आयोजन ागर्न क्यालेण्डर नै सार्वजनिक गरेको छ । क्यालेण्डर अनुसार झापामा हुने सत्ताक्षी गोल्डकप आयोजन ागर्न फागुन १ देखि १० गतेसम्म, झापा गोल्डकप र माइभ्याली गोल्डकप फागुन १५ देखि २४ गतेसम्म, दुहबी गोल्डकप फागुन २९ देखि चैत्र ८ गतेसम्म, मेचिनगर गोल्डकप चैत्र २७ देखि वैशाख ६ गतेसम्म गर्नका लागि क्यालेण्डर सार्वजनिक गरेको हो । एन्फाले प्रतियोगिता संयोजक विजय घलेको हस्ताक्षर भएको क्यालेण्डर एन्फाले सार्वजनिक गरेको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दक्षिणवर्ती घुस्की नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा दैनिक लाखौको सामान तस्करी हुने गरेको पाइएको छ । चोरी पैठारी नियन्त्रण गरी राजस्व वृद्धि तथा शान्तिसुरक्षा मजबुत बनाउन घुस्की नाकामा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा यसरी तस्करी हुने गरेको बताइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा घुमुवा प्रहरी सीमामा तैनाथ गरिए पनि तस्करी नियन्त्रणमा आएको छैन । नेपाल भारतबीच रहेको खुला नाकाका कारण घुस्की, साहेवगञ्ज, वसन्तपुर, कप्तानगञ्जसहितका नाका हुँदै दिनहुँ तस्करी गर्ने गिरोह सक्रिय रहेको छ । अवैधरुपमा दैनिक लाखौंको भन्सार छल्ने तस्करहरुसँग असुली गर्न सीमावर्ती क्षेत्रहरुमा सादा पोसाकमाा प्रहरी भेटिने गरेको स्थानीय बताउँछन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “७ महिने बालिकाको आँखाको उपचारमा आर्थिक समस्या” शीर्षकको समाचार छापिएको छ । समय अगावै जन्मिएकी छोरी नदेख्ने भएपछि उपचारका लागि आर्थिक अभाव हुँदा खैरेनीका एक दलित परिवार समस्यामा परेका छन् । सात महिनाको गर्भावस्थामै जन्मिएका मुम्ल्याहा छोरीहरु मध्ये १ जनाको उपचारकै क्रममा मृत्यु भयो, अर्को छोरी बाँचेकि छन् तर आँखा पुर्णरुपमा विकसित हुन नसक्दा दुबै आँखा नदेख्ने भएपछि उपचारमा भएको जाय जेथा खर्च भइसकेकोले थप उपचारका लागि भौतारिरहेका छन् । धरान उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित खैरेनीका ३४ वर्षीय दिपेश नेपाली सार्की र २० वर्षीया सपनाको परिवार अहिले छोरीको उपचारका लागि आवश्यक पर्ने आर्थिक खर्चका लागि भौतारिरहेका छन् । जन्मिएको ५ दिनमा मृत्यु भएकी एउटा छोरीको उपचारमा करिब साढे ६ लाख रुपैयाँ जति खर्च भइसकेको छ भने बाँचेकी छोरीको उपचारमा साढे ३ लाख खर्च भइसकेको छ । छोरीको थप उपचारका लागि भारतको चेन्नई लानुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । तर आर्थिक अभावले उपचारका लागि भारत लान सकेका छैनन् ।