ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स विराटनगरका फार्मेसीमा म्याद सकिएका औषधी शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को राजधानी शहर विराटनगरको फर्मेसीमा म्याद सकिएको औषधि राख्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग विराटनगर शाखाले आईतबार आकस्मिक गरेको अनुगमनको क्रममा ठूलो संख्यामा म्याद सकिएको औषधि बरामद गरेपछि यस्तो रहस्य खुलेको हो । विराटनगर ९ न्यूरो हस्पिटलअगाडि विकास मण्डलले सञ्चालन गरेको हाम्रो फ्रेण्डसिप फार्मेसीमा स्टक गरेर राखिएको अवस्थामा म्याद सकिएका १५ प्रकारका विभिन्न औषधि बरामद गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए । औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत चतुर्भुज प्रसाद यादव नेतृत्वको टोलीले हाम्रो फ्रेण्डसिप फार्मेसीबाट १५ प्रकारका १ सय ३९ थान बरामद गरेको खडकाले बताए ।

आजको ब्लाष्ट टाईम्समा स्थायी बसोबास माग्दै बाढी पीडित शीर्षकको अर्को समाचार पनि छापिएको छ । झापाको कमल गाउँपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको उत्तरपट्टि करिब २ सय परिवारका स साना झुप्रा छन् । यो ठाउँको जमिन उनीहरुको आफ्नो होईन र आफूखुशी आएर बसेका पनि होइनन् । उनीहरुलाई केही समयका लागि भनेर यहाँ बसाइएको ४० वर्षभन्दा बढी भइसक्यो । तर त्यहाँका बासिन्दाको उचित व्यवस्थापन अझै हुन सकेको छैन । २०३५ सालतिर रतुवा खोलामा आएको बाढीले उनीहरुको घरबार सबै बगाइदिएपछि तत्कालिन जनप्रतिनिधि तथा सरकारले आपतकालिन व्यवस्थापन भनेर यहाँ राखेका थिए । यो जग्गा रतुवामाई वृक्षरोपण आयोजनाको हो । अर्को विकल्पका लागि भनेर उनीहरु राजनैतिक परिवर्तनमा समेत होमिए । विभिन्न राजनैतिक दलले स्थायी बसोबासको व्यवस्था मिलाईदिने आश्वसन दिए । ती दलहरु सत्ताको बागडोर सम्हाल्न पटक पटक सिंह दरबार पुगे । तर यहाँका झुपडीमा बत्ति बलेको छ कि छैन, छानो चुहिदै छ कि छैन भन्दै कहिल्यै पनि सोध्नसमेत कोही नआएको स्थानीय टिका भट्टराई बताउँछन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा ६ लेन सडक विस्तारः दुहबी क्षेत्रमा बजार बाधक शीर्षकको समाचार छापिएको छ । त्रिदेशिय सम्बन्ध जोड्न सुरु भएको रानी किमाथांका सडक परियोजनाको रानी देखि धरान सम्मको सडक विस्तारमा अझै पनि दुहबी नगरपालिकाको मुख्य बजारभित्र अवरोधकै रुपमा रहेको छ । रानी देखि इटहरी सम्मको ६ लेन सडक विस्तार अन्तर्गत बजारक्षेत्रमा रहेका घरटहरा हटाउन नसक्दा सडक विस्तार कार्यमा अवरोध पुग्दै आएको छ । १० अर्ब ९८ करोड लागत लाग्ने अनुमान गरिएको व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत रानी विराटनगर दुहबी इटहरी धरान ६ लेन सडक निर्माण परियोजना अन्तर्गत ४९ किलोमिटर सडक निर्माणाधीन छ । २०६९,७० बाट सुरु भएको योजना ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर समय सकिन १ वर्षमात्रै बाँकि रहँदा पनि दुहबीको समस्या अझै समाधान हुन सकेको छैन । यो सडक निर्माण पुरा भएसँगै इटहरी विराटनगर १५ मिनेटको मात्र हुनेछ ।