इटहरी : अदालत समक्ष आत्मसमर्पण गरेका कृष्ण बहादुर गिरि उर्फ सिद्धबाबाको बलात्कार मुद्दाको पेसी तोकिएको छ । आफ्नै अनुयायीलाई बलात्कार आरोपमा मङ्गलवार पुर्पक्षका लागी कारागार चलान भएका सिद्धबाबाको मुद्दामा सुनुवाइको लागी फागुन २८ को पेसी तोकिएको हो ।
'आज हाजिर हुन आउनु भएको थियो' अदालतका अधिकृत स्तरका कर्मचारीले नाम नखुलाउने सर्तमा भने 'हाजिर हुन आएपछि २८ फागुनको पेसी तोकिएको छ,अब श्रीमानले नै अगाडिको विषयमा निर्णय गर्नु हुनेछ ।'
सिद्धबाबा उच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश भएको ४० दिन पछि मात्र अदालत पुगेका थिए । अदालतमा उपस्थित भएर कारागार गएपछि सिद्धबाबाको मुद्दा अब सर्वोच्च जाने बाटो पनि खुलेको छ ।
जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेशको विरुद्ध पीडित तर्फबाट मुद्दा लड्दै आएको सरकारी वकिल एक तह माथिको उच्च अदालत गएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ७३ को प्रावधान अनुसार पुर्पक्षको लागी थुनामा पठाउने माग सरकारी वकिलले गरेको थियो ।
नियम अनुसार मुद्दाको आदेशको विषयमा सहजै पुनरावेदन गर्न (रिकल) सक्दछ । संहिताको दफा ७३ भनिएको छ 'यस परिच्छेद बमोजिम भएको थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ ।'
सोही प्रावधान अनुसार सिद्धबाबा पक्षका वकिलहरू उच्च अदालतले पुर्पक्षको लागी दिएको आदेश विरुद्ध सर्वोच्च अदालत जाने बाटो खुलेको हो ।
मुद्दाको पेसी समेत तोकिसकेको अवस्थामा सिद्धबाबा सर्वोच्चमा उच्चको आदेश विरुद्ध जाने सङ्केत पीडित तर्फका वकिलले दिएका छन् । सर्वोच्चमा मुद्दा लिएर जाँदा जिल्ला अदालतको सक्कल मिसिल झिकाएर निर्णय गर्न सक्ने भएकाले जिल्ला अदालतको पेसी स्थगित हुन सक्ने हुन्छ ।
'सर्वोच्चमा मुद्दा हाल्दा तत्काल जिल्ला अदालतले फैसला हत्तपत्त गर्दैन' ती वकिलले भने ' यत्रो लामो समयपछि मात्र कारागार बस्न आत्मसमर्पण गरेकाले सर्वोच्च सम्म जाने सङ्केत देखिन्छ ।'







































































