धरान : कोरोना भाईरसको कारण पुर्वमा हुने कार्यक्रमहरुलाई असर गर्न थालेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको सुचीमा राखेपछि नेपालले पनि सार्वजानिक सभा, सम्मेलनहरु, भोज  जस्ता कार्यक्रमहरु नगर्न आवहान गरे संगै सार्वजानिक सभा सम्मेलनहरु धमाधम स्थगित हुन थालेका छन भने घाषित कार्यक्रमहरुलाई पनि नराम्रो असर पारिरहेको छ ।

यही क्रममा धरानलाई रक्तदाताहरुको शहरको रुपमा परिचय दिलाउन र रगत अभावमा कसैको पनि ज्यान गुम्न नदिने उदेश्यका साथ नेवार एकता समाज, धरानले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा धरानको भानुचोकमा बुधवार वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा लक्ष्य भन्दा कम मात्रै रगत संकलन भएको छ । समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६०५ पिन्ट रगत संकलन भएको नेवार एकता समाज धरानका उपाध्यक्ष महेश श्रेष्ठले बताए ।

कोरोनाको असरका कारण रगत संकलनको जुन लक्ष्यमा पुग्नुपर्ने हो पुग्न नसकेको आयोजकले बताएको छ । तर एकै स्थानमा यत्तिका धेरै रक्तदान भएको पहिलो रेर्कड भएको उपाध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा कम्तीमा एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो ।

नेवार एकता समाजले मार्च ८ (फाल्गुण २५) गते आयोजना गर्ने भनेको अन्तराष्ट्रिय नारी दिवसको कार्यक्रम स्थगित गरेको छ । कोरोनाको कारण सरकारले सार्वजानिक स्थानहरुमा सभा सम्मेलन नगर्न आव्हान गरेसंगै धरानको गोर्खा डिपाटमेन्ट स्टोरको सभा हलमा कार्यक्रम गर्ने तय भएकोमा स्थगित गर्नुपरेको नेवार एकता समाजका उपाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।