पथरी : उत्तर पुर्वी मोरङका ६ स्थानिय तहले क्यानडा र वेलायतका कम्पनीको सहकार्यमा परियोजना सन्चालन गर्ने भएका छन् ।

परियोजनामा फोहर व्यवस्थापन देखी सौर्य उर्जा उत्पादन सम्म रहेका छन् । योजना सन्चालनकालागी सम्झौता भएपछि पुर्वी उत्तरी मोरङका ६ स्थानिय तहको विकासमा टेवा पुग्ने बताईएको छ ।
क्यानडा मार्फत नेपालमा सञ्चालित लिब्रा कम्पनी र बेलायतको वेक फिल्डले पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैंचा नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकाका लागि फोहोरमैला व्यवस्थापन, सौर्य उर्जा र बारुणयन्त्र (दमकल) मा सघाउने भएको बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । ति स्थानिय तहले सुवेदीलाई नै संयोजक सरह मानेर ती योजना सम्झौताको जिम्मा दिए बमोजिम योजनाहरु सम्झौता भएका छन् । जसमा वेक फिल्डले लिब्रा मार्फत काम अघि बढाउने छ ।

सिमा जोडिएका ति स्थानिय तहका एक ठाउँ फोहोर व्यवस्थापनको काम अघि बढाउनका लागि ३ विगाहा जग्गा व्यवस्थापन गर्नुपर्ने छ । १० मेगावाटसम्मको सौर्य उत्पादनमा पनि कम्पनीले सघाउने भएका छन् । सड्ने फोहोरलाई मल तथा ग्यास उत्पादन गराईने छ । नसड्ने प्लाष्टिकजन्य र शिशाजन्य फोहोरसंकलन गरी अन्यत्र कच्चापदार्थका रुपमा पठाइने छ । फोहोर व्यवस्थापनको काम सुरु भएको ८ महिनासम्ममा स्थानिय सरकारलाई परियोजना हस्तान्तरण गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ ।

दुवै संस्थाको  टोलीले परियोजना स्थलहरुको अवलोकन समेत गरीसकेका छन्। लिब्राकातर्फबाट नेपाल प्रमुख श्यामराज पाण्डेका साथै इन्जिनियर सुदिपकुमार चौधरी, व्यवस्थापक चुडामणि शर्मा तथा वेक फिल्डका तर्फबाट गुरुचरण सिंह, रोजय मिलर, जेम्स सहितको टोलीले पालिकाहरुको परियोजना क्षेत्रको अवलोकन गरेका हुन ।

विस्तृत परियोजना तयार पारेर ६ स्थानिय तहको बीच भाग पर्ने ठाउँमा फोहोर व्यवस्थापनको कार्यक्रम अघि बढाइने लिब्राका नेपाल प्रमुख पाण्डेले बताए । सौर्य उर्जाका लागि प्रति पालिका १० मेगावटसम्मको उत्पादनको काम गरेर राष्ट्यि प्रसारण लाइनमा जोडन सकिने उनको भनाइ थियो । १० मेगावटका लागि १५ विगाहा जमिन स्थानिय तहहरुले व्यवस्थापन गर्नुपर्ने छ । परियोजनाहरुको प्राविधिक सहितका मेसिनरी सामग्रीहरुका लागि स्थानियतहहरुले ६० प्रतिशत र कम्पनीले ४० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

अर्कातर्फ, लिब्राले एशियाली विकास बैंकसँगको सहकार्यमा ६ वटै स्थानिय तहहरुका लागि आगो नियन्त्रण गर्ने १-१ थान अत्याधुनिक बारुणयन्त्र अनुदान उपलब्ध गराउने पनि सम्झौता भएको छ । यस कार्यक्रमले ६ पालिकालाई महत्वपूर्ण योगदान दिने पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको भनाइ छ ।