धरान : भेडेटारको साँगुरीगढी पाथीभरा सामुदायिक वनमा आईतबार साँझ देखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं. ६ कोलबोटेबाट आईतबार साँझ ५ बजे देखि सुरु भएको डढेलो सोमबार साँझ सम्ममा पनि नियन्त्रणमा आउन नसकेको भेडेटार प्रहरीले जनाएको छ । डढेलोले सोमबार साँझ सम्ममा २५ सय रोपनी भन्दा बढी वन क्षेत्रमा क्षति पुर्याएको छ ।
जोखिम क्षेत्रमा आगो नियन्त्रण गरी अग्नी रेखा बनाई डढेलो नियन्त्रणमा गएका सबै फर्किएको इलाका प्रहरी कार्यालय भेडेटारका सई यदु खडकाले जानकारी दिएका छन् । भौगोलिक हिसाबले भिर पहरा र पात पतिंगर जलेर ढुंगा झर्न थालेपछि डढेलो पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको बताईएको छ ।
डढेलो नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, सामुदायिक बनका पदाधिकारी तथा वन समुहका सदस्यहरु र स्थानियबासीले सोमबार विहान देखि प्रयास गरे पनि डढेलो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । यो समाचार तयार पारुन्जेल सम्म डढेलो पाथीभरा मन्दिर देखि मुनि कम जोखिम भएको क्षेत्रमा रहेको बताईएको छ ।