धरान : कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा साढे २ महिनापछि लकडाउन खुल्ला भएको छ ।

लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्यसम्म जाने तयारीमा जुटेका छन् ।

बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ।

बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।१ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमा थियो ।

वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो ।