धरान । भारतमा कोरोना भाइरसको तीव्र रूपमा फैलँदै गएको छ । कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

साथै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा समग्र सङ्क्रमितको सङ्ख्या आठ हजार तीन सय ५६ पुगेको छ ।

भारतको महाराष्ट्र राज्यमा मा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा सङ्क्रमितको सङ्ख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै मध्य प्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ सङ्क्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म भारतमा सात सय १६ जना सङ्क्रमित निको भइसकेका छन् । कोरोना भाइरसको महामारी बढेसँगै भारतले २१ दिनको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यद्यपि लकडाउन कहिलेसम्म लम्बिने हो भन्ने विषयमा भने आधिकारिक निर्णय आउन बाँकी छ ।