धरान :  विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ ।

अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो ।

अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार घटना आइतबार भएको थियो । मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।” उनले आँधीबाट पीडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए ।

“आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् ।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन् ।

यसैबीच कोरोना भाइरसले अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेकोे छ ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।