दिल्ली : भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न लकडाउ लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारेन्टाइन स्थलबाट भाग्न थालेका छन्।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारेन्टाइन स्थल खडा गरिएका थिए। तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन्।

बिहारका केही क्वारेन्टाइन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि निःशुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ।

उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ। सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।

यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्।

कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी लकडाउनको घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारेन्टाइनको घोषणा गरेका थिए।