धरान : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ।

साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा निधन भएको हो ।

रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो।

उनलाई ज्वरो भने आएको थिएन । श्रेष्ठको परिवारले उनलाई यसअघि खासै अरु ठूला स्वास्थ्य समस्याहरु नरहेको जनाएका छन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको परिवार सन् २०१० देखि बेलायत बस्दै आएको थियो।

श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए। पासा पुचस् गुठी, पशुपतिनाथ मन्दिर लगायतका स्थानीय संघसंस्थामा उनी एक आजीवन सदस्यका रुपमा सक्रिय थिए। नेपालमा स्याङ्जा पुख्र्यौली भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो।

कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्‍यु भइसकेको छ। जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन्। बेलायतभरमा सयौं नेपाली संक्रमित भएको आशंका छ। एक दर्जन भन्दा धेरै अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन्।