धरान : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित) आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिनआमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।
शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।