काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको मृत्यु भएका समाचारहरु एकाएक भाइरल भइरहदा अमेरिका र दक्षिण कोरियाका गुप्तचर संस्थाहरुले उनी जीवितै रहेको दावी गरेका छन् ।
मुटुमा समस्या देखिएपछि किमको शल्यक्रिया गरिएको र उनी जीवितै रहेको अमेरिका र कोरियाका गुप्तचर संस्थाले जनाएका हुन् । वासिङटन पोष्टले तीन सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अमेरिकी तथा दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार उनी अझै जिवित नै रहेको उल्लेख गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८ - नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ ।
गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा दावी गरिएको छ ।
उत्तर कोरियामा पछिल्लो समय भएका विविध समारोहमा किमको उपस्थिती नभएकाले पनि किमको मृत्यु भएको आशंका गरिएको थियो ।
किम अप्रिल १५ मा उनको हजुरबाको जन्म जयन्ती तथा शनिवार त्यहाँको सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत अनुपस्थित थिए ।
उनको उपचारका लागि भन्दै चिनियाँ बरिष्ठ चिकित्सकहरुको टोली समेत त्यहाँ गएको दावीसहित रोयटर्सले समाचार प्रकाशित गरेको थियो ।