झापा : इलाममा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित अन्य २ जना कार्यकर्तालाई प्रहरीले ठुलो परिमाणमा विस्फोट पदार्थ सहित पक्राउ गरेको छ ।

इलामको माई नगरपालिका–९ बोरिङबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरी समेतको टोलीले सोमबार राती ११ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विस्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । अहिले थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृतमा प्रहरीले केहिबेरपछि जानकारी गराउने जनाएको छ ।