धरान : नेपाल भारत सीमाको विराटनगर महानगरपालिका वडा नं. १६ मा रहेको सशस्त्र प्रहरी बलको ९ नम्बर गुल्मका गुल्म पति डिएसपी प्रदीप बस्नेतको नेतृत्वमा खटिएको टोलीले मङ्गलवार दिउसो २ बजे भारतीय ट्रकको चेक जाँच गर्यो ।
भारतबाट आएको खाली ट्रकमा २ जना मात्रै मानिस थिए । विराटनगर महानगरपालिकाको १८ नम्बरमा रहेको चेकपोस्ट, एकीकृत सुरक्षा जाँच चौकीमा ट्रकको प्रवेश भयो । ट्रकको चेक जाँच भयो । चालक र सहचालक मात्रै भएको ट्रकका दुवैलाई हेण्ड सेनिटाईजर दिइयो र उनीहरूको पनि स्वास्थ्य परीक्षण गरियो । डिउटीमा खटिएका सशस्त्र प्रहरीका कमान्डर डिएसपी प्रदीप बस्नेतले पछाडि हाफ डाला ट्रकमा के छ ? भनेर सोधी खोजी गरे ।
पछाडि हेर्न लगाउँदा केही छैन भन्दै सहचालक अनकनाए । यसरी अनकनाएको देखेपछि शङ्कालागि हेर्दा ट्रकमा एउटा बोरा थियो । बोरा भित्र एउटा कार्टुनमा उनीहरूले चिया प्याक गर्ने प्लास्टिक छ भने । उचाल्न लगाउँदा गह्रौँ देखिएकोले खोलेर हेर्दा १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँ सशस्त्र प्रहरीले फेला पार्यो ।
नेपाल भारत सीमाको विराटनगर महानगरपालिका वडा नं. १६ मा रहेको सशस्त्र प्रहरी बलको ९ नम्बर गुल्मका गुल्म पति डिएसपी प्रदीप बस्नेतको नेतृत्वमा खटिएको टोलीले १८ नम्बर पोस्टमा भारतबाट आएको डब्लु बी ७३ ई ७६७५ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा सो रकम फेला पारेको हो ।
ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । चालक र सहचालक दुवै भारतीय हुन् । अहिले सो ट्रक र पैसा सशस्त्र प्रहरीको ९ नम्बर गुल्ममा सिल छाप गरी राखिएको छ । रित्तो ट्रकको पछाडि बोरा भित्र कार्टुनमा बेरेर यति ठुलो मात्रमा रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।
नियन्त्रण गरिएको सो पैसा मंगलबार नै भन्सार कार्यालय विराटनगरलाई बुझाउने भनिए पनि भन्सारले आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाउन भनेकोले भोलि बुधवार सो रकम इटहरीमा बुझाइने गुल्म पति डिएसपी प्रदीप बस्नेतले बताएका छन् ।
यो घटना मात्रै होइन यो नाकाबाट धेरै पटक अवैध रकम ओसारपसार गरेको सशस्त्र प्रहरीले जनाएको छ । अत्यावश्यक सामाग्री लिन आएको भन्दै सो ट्रक नेपाल भित्री सकेको थियो । नेपाल भारत दुवै तिर लकडाउन भएकोले उता भारतीय सुरक्षाकर्मीले भने खाली ट्रक देखेकाले राम्रो चेक जाँच नगरी नेपाल प्रवेश गर्न अनुमति दिएका थिए ।




































































