धरान : धरानबाट १५ वर्ष देखि निरन्तर प्रकाशन हुँदै आएको दिव्य रोशनी साप्ताहिक १६ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार, धरान उपमहानगरको फुड बैङ्कमा ४ सय केजी चामल र २ बोरा न्यौटेला प्रदान गरेको छ ।

दिव्य रोशनी साप्ताहिकका प्रबन्धक सागर सिङ्गजाली र सम्पादक मनिता चाम्लिङले धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई सो सहयोग हस्तान्तरण गरे । साप्ताहिकरुपमा प्रकाशन हुँदै आएको दिव्य रोशनी साप्ताहिकले आनलाईन पनि सुरु गरेको जानकारी गराउँदै पत्रिकाको एप्सका पनि नगर प्रमुख तिलक राई, पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष गोविन्द बस्नेत र समाजसेवी महिला सुश्री विद्या शाक्यले मावाईलमा क्लिक गरी शुभारम्भ गरेका थिए । एप्स निर्माणमा भोक लाग्यो डट कमले सहकार्य गरेकोे छ ।

दिव्य रोशनी साप्ताहिकले वार्षिक उत्सवको अवसरमा हरेक वर्ष औपचारिक कार्यक्रम आयोजना गर्दै आएको थियो । यस पटक कोरोनाको कारण भएको लकडाउनले गर्दा गर्न नसकिएकोमा सम्पादक मनिता चाम्लिङले दुख व्यक्त गरेकी थिइन ।

यस अघि बुवा क्विन गोरखा इन्जिनियर प्रभुराम राईको स्मृतिमा उत्कृष्ट सामाजिक सेवा सम्मान र स्वर्गीय कान्छा दाजु बाजुन राईको स्मृतिमा उत्कृष्ट पत्रकार सम्मान गर्दै आएको थियो । यस पटक लकडाउनले मुलुकमा समस्या भइरहेको बेलामा दिव्य रोशनी साप्ताहिकको तर्फबाट धरान उपमहानगरबासीलाई सहयोग पुगोस् भन्ने हेतुले ४ सय केजी चामल फुड बैकमा जम्मा गरेको सम्पादक मनिता चाम्लिङले बताइन् ।

पत्रिकाका ४ जना कर्मचारीलाई वार्षिक उत्सवकै अवसरमा २५ केजी चामल,१ केजी नुन, १ लिटर खाने तेल, १ केजी दाल र १ पोका न्युटेला प्रदान गरिएको पनि सम्पादक चाम्लिङले जानकारी गराइन् ।