धरान : धरान आसपासका जिल्लाहरूमा कोरोना सङ्क्रमित देखिन थाले पछि धरान कोरोना सङ्क्रमणको उच्च जोखिम क्षेत्र हो । तर पनि धरानवासीको अटेरीपनले गर्दा लकडाउन धरानमा प्रभावकारी हुन सकेको छैन ।
धरानमा लकडाउनको सुरु सुरुमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर कोरोना सम्बन्धी जानकारी दिएर छाडे पनि अहिले त्यस्तो छैन । धरानमा जहीतही लकडाउन उल्लङ्घन भइरहेको पाइएको छ ।
धरानको जनजीवनलाई सहज बनाउन धरान उपमहानगरपालिकाले तरकारीजन्य बस्तुको बिक्री वितरण गर्ने निर्णय गरेसँगै खाद्यान्नको लागि पनि सुनसरी उद्योग वाणिज्य सङ्घ र धरान उपमहानगरपालिकाले हरेक दिन बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्नको सम्बन्धित वडाबाट अनुमति पाएका पसलहरूले बिक्री वितरण गर्न पाउने निर्णय भएको छ ।
सोही अनुसार बिहान धरानमा लकडाउन केही खुकुलो भएको प्रहरी बताउँछ । तर बिहान मात्रै होइन दिनभरीनै बजारमा मानिसहरूको आउजाउ भइरहेको पाइएको छ । सामाजिक दुरी र अनिवार्य मास्क लगाउनुपर्ने भनिए पनि यो पनि नगरी सर्वसाधारण हिँडडुल गरिरहेको देख्न पाइन्छ ।
धरानका केही चौकहरूमा खटिएका प्रहरीले सम्झाई बुझाई गर्दा अटेरीपन देखाउने थुप्रै देखिन थालेका छन् । धराने केही जमात समूह बनाएर लकडाउनको उल्लङ्घन गर्दे धरान आसपासका ग्रामीण क्षेत्रहरूमा हाइकिङ गर्दे पुग्ने क्रम बढ्दो छ । यसले सहरबाट मानिसहरूको समूह गाउँमा पुग्दा गाउँले त्रसित हुन थालेका छन् ।
बजारमा मोटर साइकलको पार्किङ बढन थाल्यो
धरान बजारको मुख्य सडक खण्डको आसपासको क्षेत्रमा पछिल्लो समय आएर सडक किनारामा मोटरसाइकल पार्किङ बढन थालेको पाइएको छ ।
बजार क्षेत्रमा पार्किङ बढ्नुको साथै थुप्रै सवारीसाधनहरू विना रोकटोक सडकमा गुड्न थालेका छन् । यो सँगै जेठ ३ गते देखि लागु हुने लकडाउनको नियम कार्यान्वयन भएको पटक्कै देखिँदैन ।
प्रहरीले एक दिन कडाइ गर्ने सर्वसाधारणको सवारी साधनको चाबी नियन्त्रणमा लिने हप्ता दिन प्रहरीले सवारी चेक जाँच नगर्दा फेरी सार्वजनिक सवारी साधनहरू व्यापक सञ्चालनमा आउने गरेको पनि पाइएको छ ।
त्यसैले धरानको लकडाउनलाई पुरा कार्यान्वयनमा ल्याउनका लागि धरान उपमहानगरपालिका र प्रहरी प्रशासनले समन्वय गरेर ठाउँ ठाउँमा चेक जाँच गर्नुपर्छ ।
यदि यसो हुन सकेन र सर्वसाधारण पनि बजारमा निस्किन थाले भने धरानमा कोरोनाको जोखिम बढ्ने देखिन्छ । धनकुटा, उदयपुर र भोजपुर जिल्लासँगै सिधा सम्पर्क हुने धरान बजारमा यसरी नै लकडाउनलाई व्यवस्थित नबनाउने हो भने धरानमा भोलि गएर ठुलो समस्या आउन सक्ने देखिन्छ ।