धरान : धरान उपमहानगरपालिकामा अव देखि होमडेलिभरीका सम्पुर्ण सेवा बन्द गरिएको छ ।

धरान उपमहानगरमा आज बसेको बैठकले सो निर्णय गरेको हो । विभिन्न फाष्टफुडहरुले घरघरमा सेवा प्रवाह गरिरहेको र अरू ठुला डिपार्टमेन्ट स्टोरहरूले पनि खाद्यान्नका सामाग्री ढुवानी गरिरहेकोमा कोरोना सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को निर्णय नहुन्जेल स्थगित गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

होम डेलिभरी गर्नुको साटो खाद्यान्न पसलहरू बिहान ६ बजे देखि ९ बजे सम्म लकडाउनमा अपनाउनुपर्ने नियमलाई कडाइका साथ पालना गर्दै उपभोक्ताहरूलाई सेवा दिन पाउने तर होमडेलिभरी तत्काललाई बन्द गर्ने निर्णय धरान उपमहानगरपालिकाले गरेको छ ।

पुस्तक पसल पनि बन्द

यसै गरी धरान उपमहानगरमा विद्यार्थीहरूलाई केन्द्रित गरी साताको दुई दिन पुस्तक पसलहरू खोल्ने निर्णय भएको थियो । सो निर्णय पनि आजको बैठकले खारेज गरिदिएको छ । धरानका स्टेशनरी व्यावसायीहरुले पुस्तक पसलमा अव्यवस्थित तरिकाले भिड बढेको भन्दै यसबाट झन् कोरोना सङ्क्रमणको जोखिम बढेकोले उनीहरुले नै सातामा दुई दिन स्टेशनरी पसल खुल्दै आएकोमा बन्द गर्न माग गरेका थिए । सोही अनुसार अव धरानमा जनक शिक्षा सामाग्रीका पुस्तक बिक्री गर्ने पसल र सम्पूर्ण स्टेसनरी पसलहरू बन्द हुने निर्णय भएको छ ।

बैठकमा धरानको खानेपानीको विषयमा पनि छलफल भएको छ । खानेपानी आयोजनाको बारेमा अनर्गल कुराहरू उठिरहेकोले त्यसो नगरी प्राविधिक कुरा आयोजनाले र नेतृत्वको कुरा धरान उपमहानगरले उत्तर दिने र खानेपानीलाई व्यवस्थित बनाउने कुरामा पनि छलफल भएको मेयर तिलक राईले जानकारी दिए ।

धरान आसपासका जिल्लाहरूमा कोरोना सङ्क्रमण देखिएकोले धरानको लकडाउनलाई पनि थप कडा पारिने पनि बैठकमा छलफल भएको थियो । यस कुरामा सुरक्षाकर्मीले लकडाउनलाई थप कडाइ गर्ने बताइएको छ ।