झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अर्थात् झापा क्षेत्र नम्बर ५ मा चालु आर्थिक वर्षभित्रमा सबै विपन्न नागरिकको खरको छानो हटाउने लक्ष्यका साथ काम गरिने भएको छ ।

सो कामकालागि नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम मार्फत यस क्षेत्रमा रहेका सयौँ नागरिकहरूले नयाँ घर पाउने भएका छन् । यस्तै कतिपयको खरको छानो फेरिएर जस्तापाताको छानो हालिने भएको छ ।

खरको छानो फ्याँकेर टिनको छानो लगाउने नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीको निर्वाचन क्षेत्र अर्थात् झापा क्षेत्र नम्बर ५ का ४ वटा पालिकामा हरेक वर्ष न्यूनतम १ हजार ४ सय घरको फुसको छानो फेरिँदै आएको छ ।

चालु आर्थिक वर्षमा थप १ हजार ३ सय ३० परिवार सङ्ख्या थप गरिएको छ । जसमा २ हजार ७ सय ३० घर परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम तय भई सकेको र यसको कार्यान्वयन समेत सुरु भइसकेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होम बहादुर थापाले जानकारी दिएका छन् ।

जसमा दमक र गौरादह नगरपालिकामा क्रमशः ६ सय १६ र ६ सय ६३ त्यसै गरी कमल र गौरिगञ्ज गाउँपालिकामा ८ सय ३० र ६ सय २७ घरको छानो फेर्ने कार्यक्रम तय भएको बुझिएको छ । जसका लागि हरेक घरलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छानो फेर्ने कार्यक्रमका लागि मात्र आफ्नो निर्वाचन क्षेत्रमा १ अर्व ३६ करोड ५० लाख रुपैयाँ विनियोजन भइसकेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य थापाले जानकारी दिए ।
त्यसै गरी घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम जनता आवास कार्यक्रम पनि १ सय २० वटा घर बन्ने भएका छन् ।

एक घर निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ परियोजना अन्तर्गत आउने र कतिपय पालिकाहरूले त्यसमा अपुग भए थपेर बनाइदिने गरेको समेत सचिवालय सदस्य थापाले बताउनु भयो । उहाँका अनुसार यो वर्ष दमक र गौरदह नगरपालिकामा ३२/३२ वटा र कमल र गौरिगञ्ज गाउँपालिकामा २८/२८ वटा घर बनाएर विपन्न नागरिकलाई दिइने जनाइएको छ ।

परियोजना अन्तर्गत ४२ करोड रुपैयाँ आउने सुनिश्चित भएको छ । त्यसै गरी सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा २७ वटा नमुना घर पनि बन्ने भएका छन् । जस अन्तर्गत दमकमा नगरपालिकामा १५ वटा र गौरिगञ्ज गाउँपालिकामा १३ वटा नमुना घर बन्ने भएका हुन ।

आवास योजना अन्तरगतै तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरिगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा विपन्न नागरिकलाई आवास दिने कार्यक्रम तय भएको बताइएको छ । संंख्याको यकिन नभए पनि सो परियोजना अन्तर्गत घर घर बनाइदिने टुङ्गो लागिसकेको बताइएको छ ।