आत्महत्या गर्न चाहने व्यक्तिले आफैँले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिँदैन। उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ । उसले गरेको सङ्केतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या गर्नेको उद्देश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पिडाको अन्त्य गर्नु हो। पीडाको अन्त्यकालागि उसले त्यो बाटो रोजेको हुन्छ । यदि उसले आफ्नो पीडा कसैलाई सुनाउने वातावरणको सृजना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या व्यक्तिगत समस्याका कारणले हुने गरेता पनि व्यक्ति लाई आत्महत्या को तह सम्म पुर्याउन कुनै न कुनै रूपमा समाज पनि दोषी रहेको पाइन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा आत्महत्या गर्ने मनोवृत्ति मृत्युको दसौँ कारण बन्न पुगेको छ । नेपाल भने आत्महत्या गर्ने देशहरू मध्ये ८१ औँ श्रेणीमा पर्दछ। तथ्याङ्क अनुसार १६ देखि ४९ वर्ष का महिलाहरूले विशेष गरी आत्महत्या को प्रयास बढी मात्रामा गर्ने गरेको पाइन्छ। तर खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरूले महिलाको अनुपात मा बढी सफल रूपमा आत्महत्या गर्ने गरेको पाइन्छ। आत्महत्या गर्ने व्यक्ति ले १८ देखि २२ पटक सम्म आत्महत्या को प्रयास गर्ने गरेको पाइन्छ।
नेपालमा लकडाउन हुनु पूर्व बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या लगभग ६,८४० थियो भने अहिले आएर यसको सङ्ख्या २० प्रतिशतले बढेको छ। लकडाउन भएको ७४ दिन भित्र मात्रै करिब १२०० जनाभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जसको कारण खस्कँदो आर्थिक , सामाजिक , सांस्कृतिक अवस्था र यसले निम्त्याएका विविध पक्षहरू रहेका छन् जस्तैसङ बेरोजगारी, अस्थिर वासस्थान, भेदभाव, खाद्यान्नको अभाव रहेको छ । नेपालमा सामान्यतया घरेलु हिंसा, प्रेम सम्बन्ध, बलात्कार, अनिश्चित गर्भधारण, पारिवारिक बेमेल ,पति या पत्नीले अर्को विवाह गर्ने ,पर्याप्त दाइजो नदिएको निउमा पाउने मानसिक यातना, पढाइमा असफलता, अत्यधिक ऋण, मानसिक विचलन जस्ता कारण नै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछ।
आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छा सँगै उसको खुसी हुने इच्छा समेत गाँसिएको हुन्छ। आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नु पूर्व कसैको सहयोगको अपेक्षा गरेका हुन्छन्। कसैले उनीहरूको कुरा सुनिदियोस् भन्ने चाहना राखेका हुन्छन् । सहानुभूतिको आशा गरिरहेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ। मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ।
आत्महत्याको घटनाहरू दिनप्रतिदिन बढ्दैन जसको रोकथामका लागि multispectral approach आवश्यक छ। जस अन्तर्गत शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार व्यवसाय लगायत विभिन्न सेक्टरहरूसँग समन्वय गर्न आवश्यक छ। सामाजिक र आर्थिक कारणले हुने आत्महत्या निवारणका लागि गरिबी निवारणका कार्यक्रम महत्त्वपूर्ण मानिन्छ। स्वास्थ्य सेवामा पहुँच राम्रो नभएको स्थितिमा विभिन्न मानसिक समस्याबाट पीडित व्यक्तिले समाजमा हेय दृष्टिले हेर्ला भन्ने डरले वा मानसिक रोगी भन्ने लाञ्छना लाग्ने डरले रोग लुकाउने , उपचार नगर्ने र आफ्नो समस्याहरू कसैलाई नभन्ने समस्या छ। यसका लागि मानसिक स्वास्थ्य समस्याहरूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ। आत्महत्या घटाउन र रोक्नको लागि मानसिक स्वास्थ्य सेवा राम्रो बनाउनुपर्छ।
आत्म हत्या साँच्चिकै समस्या हो । मानसिक रोगीहरू वास्तविक हुन्। मन कमजोर भएर भएका होइनन्। मैले के गर्न सक्छु र भन्नु भन्दा मैले कसरी सहयोग गर्न सक्छु ताकि कसैको जीवन बचोस् भन्ने सोच आउन जरुरी छ। आफ्नो तर्फबाट सबैले सकेको सहयोग गरौँ।
नेपाल सरकारले पनि कोरोना सङ्क्रमणको रोकथाम सँग सँगै खस्कँदै गइरहेको आर्थिक तथा सामाजिक स्थितिलाई समेत सम्बोधन हुने किसिमको राहतका प्याकेजहरू ल्याई जनतालाई थप मानसिक भार पार्न नदिने योजनाहरू ल्याउन आवश्यक छ। यसो गरेको खण्डमा जनताहरू लाई थप ऊर्जाशील बन्न हौसला प्राप्त हुने र महामारी को दुःख लाई केही हद सम्म भुलाउन मदत पुग्ने छ।