झापा : सरकारले चरणबद्ध रूपमा कोरोना विरुद्धको खोप लगाउने अभियान चलाइरहेको छ ।
लक्षित वर्गको वर्गीकरण गरेर सरकारले पहिलो र दोस्रो चरणको खोप अभियान सम्पन्न गरेको छ । तर यो दुवै चरणमा जुन मात्रामा खोप लगाउने सङ्ख्याको अनुमान गरिएको थियो त्यो मात्रामा खोप लगाउन गएनन् ।
अव सरकारले फेरि तेस्रो चरणको खोप अभियान चलाउने र चाँडै समुदाय स्तरमा समेत लगाउने भनेर घोषणा गरेको छ । भारतबाट अनुदान र खरिद नै गरिएको कोभिसिल्ड नामक खोप लगाउन किन नागरिक उत्सुक भएनन् ?
माघ १४ गते देखि नेपालमा खोप अभियान सुरु भयो । भारत सरकारले १० लाख डोज खोज अनुदानमा सहयोग गरेपछि नेपालमा खोप अभियान थालिएको हो । पहिलो चरणमा ४ लाख ३० हजार जनामा खोप लगाउने सरकारले लक्ष्य राखेको थियो । तर पहिलो चरण सकिएर दोस्रो हुँदै तेस्रो अभियान चलाउने समयमा सम्म आइपुग्दा पनि त्यो सङ्ख्यामा खोप लगाउने पुगेकै छैनन् ।
पहिलो चरणमा सरकारले अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शवबाहन चालक, कारागारका कर्मचारी, कैदी लगायतलाई खोप उपलब्ध गराउने निर्णय गरी खोप अभियान सञ्चालन गर्यो । तर, सरकारको लक्ष्य अनुसार लक्षित समूहले खोप लगाउन नआएपछि पहिलो चरणको खोप अभियानलाई बढाउँदै खोप लगाउनेको समूहको दायरा पनि फराकिलो बनायो ।
पहिलो चरणमा खोप लगाउनेको तथ्याङ्क नै मगाएर सूची तयार गर्दा पनि कोरोना खोप लगाउन नआएपछि सरकारले पत्रकार, कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारी जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर खोप लगायो ।
तर त्यसो गर्दा पनि खोप लगाउनेको सङ्ख्या मुस्किलले २ लाख मात्र पुग्यो । यसो हुनुमा सरकारले खोप अभियान सुरु खोपको फाइदा र नलगाउँदा हुने बेफाइदाका बारेमा आम नागरिकलाई सरकारले प्रभावकारी जानकारी गराउन नसकेको बताउनु हुन्छ दमक स्थित आम्दा अस्पतालका चिकित्सक डा. दिवस बोहोरा ।
विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरसबाट जोगिने खोप लगाउन किन नेपालीहरूले चासो दिइरहेका छैनन् ? किन खोप लगाउनेको सङ्ख्या कम भएको हो ? डा. बोहोराले भनेजस्तै जनचेतनाको अभावकै कारण हो त ? एनेस्थेसियोलाजिष्ट डा. नवीन ढकाल भन्छन्-“नेपालमा सरकारले पहिलो चरणमा सबै भन्दा बढी नागरिकसँग आफ्नो काम गरिरहने समूहलाई खोप दियो ।”
जुन समूह अन्य समूह भन्दा बढी जानकार हुन । विभिन्न जर्नल बढेर खोजेर पनि खोपको बारेमा आफै पनि बुझ्न सक्ने समूह हो । तर यो अभियानमा सहभागी बन्न त्यो समूहका अधिकांशले आग्रह गरे तर आफूले लगाएनन् । त्यसैले आफूले नलगाई अरूलाई लगाउन अर्ती दिनेको सङ्ख्या चाहिँ बढी रहेकोले पनि खोप लगाउन सहज रूपमा खोप केन्द्र नपुगेको डा. ढकालले बताए ।
नयाँ खोप भएकाले के हुन्छ ? कस्तो हुन्छ ? भन्ने आशंका पनि देखिए । यसलाई सामान्य नै मान्नु पर्ने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँ बताउँछन् ।
उनका अनुसार सरकारले खोपको बारेमा आवश्यक जानकारी दिँदै नदिई खोप अभियान सुरु गरेको भन्ने भन्दा पनि खोपको बारेमा सरकारले भनेको जस्तो हो कि होइन भनेर खोज्ने र बढी नकारात्मक सोचाई राख्नाले पनि खोप अभियानमा सहभागीको सङ्ख्या कम भएको हो ।
तर क्रमशः चरणबद्धका अभियान चलेकाले अघिल्ला चरणमा छुटेकाले पूःन लगाउन मिल्ने भएकोले सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानमा सहभागी बन्न सक्ने फोकल पर्सन चौँलागाईको दाबी छ । चौलागाईका अनुसार अब खोप केन्द्रको सङ्ख्या बढ्ने र खोपको पहुँचमा सबैलाई पुर्याउने तयारी छ ।
खोप लगाएपछि पूर्ण रूपमा ढुक्क हुन सक्ने आधार नभएको विज्ञहरूले बताउँदै आएका छन् । खोप लगाए पनि आवश्यक सुरक्षाका उपाय अपनाउनै पर्ने खुल्ला र स्वतन्त्र भएर हिँडडुल गर्न नमिल्ने भन्ने विश्व स्वास्थ्य सङ्गठनले गरिरहेको आग्रहले पनि नागरिकमा खोप लगाउनु र नलगाउनु उस्तै नै हो रहेछ भन्ने सोचाई बढेकोले पनि अभियानमा उल्लेख्य मात्रामा सहभागिता नभएका हुन ।
तर विज्ञ भन्छन् मास्क लगाउनु, नियमित हात धुनु, भिडभाडमा नजानु कोरोनाबाट बच्ने मात्र होइन अन्य सरुवा रोगबाट समेत बच्ने भएकोले ती राम्रा कामको निरन्तरता गर्नु आफ्नै लगी पनि उत्तम रहेको सुझाव छ ।