धरान : धरान-१२ स्थित एम्स एकेडेमीमा तेस्रो सांस्कृतिक दिवसका अवसरमा शुक्रवार एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

एम्स क्रीएटिभ ग्रुप (एसिजी) को आयोजनामा भएको प्रतियोगितामा राजेश तामाङ पहिलो भए । त्यस्तै दृष्टि राई, उषा कार्की र एकता जिमी क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भए । विजेताहरूलाई कलेजका अध्यक्ष प्रकाश राई, प्रिन्सिपल मित्र तामाङ, वित्तीय संयोजक हेमन्त भण्डारी लगायतले मेडल र ट्रफी प्रदान गरे ।

प्रतियोगितामा ११ जना बिद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकमा वरिष्ठ नृत्य प्रशिक्षक नगेन्द्र राई रहेका थिए । एसिजी कलेजका बिद्यार्थीहरुलाई रचनात्मक र सामाजिक कार्यमा उत्तरदायी बनाउन स्थापना गरिएको संस्था हो ।

कलेजका अधिकांश प्राध्यापक र बिद्यार्थीहरु आ–आफ्नो भेसभुसा झल्काउने सांस्कृतिक पोसाकमा उपस्थित भएका थिए । बिद्यार्थीहरुलाई आफ्नो संस्कार संस्कृति प्रति जागरूक बनाउन सांस्कृतिक दिवस राखिएको कलेजका व्यवस्थापन सङ्काय तर्फका कार्यक्रम संयोजक दुर्गा सुबेदीले जानकारी दिए ।

नयाँ पुस्ताका बिद्यार्थीहरुले आफ्नो मौलिक संस्कृति बिर्सँदै जान थालेको हुनाले आफ्नो संस्कार, भेसभुसाको संरक्षण गर्नको लागि उत्प्रेरित गर्न प्रत्येक वर्ष यो कार्यक्रम गरिने कलेजका शैक्षिक निर्देशक नेत्र सुबेदीले जानकारी दिए ।

आफ्नो संस्कार, संस्कृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरामा बिद्यार्थीहरुलाई जिम्मेवार बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने कलेजका अध्यक्ष राईले बताए । एसीजीका अध्यक्ष निशान राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन छात्रा जानुका अधिकारीले गरेकी थिइन ।