धरान : धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समितिका संयोजक सुवास राईको निधन भएको छ ।

नगर खेलकुद विकास समितिका सदस्य विकास चाम्लिङका अनुसार केही दिन अघि फोक्सो र मिर्गौलामा समस्या देखिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका राईको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकोले उनलाई घरमै आइसोलेसनमा राखिएको थियो ।

घरमै आइसोलेसनमा बसेका राईको हिजो देखि स्वास्थ्यमा समस्या देखा परेको र अक्सिजन लेबल घटेकोले गए राति बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान करिब ४ बजे तिर राईको निधन भएको चाम्लिङले बताए ।

वि.सं. २०४९ र २०५४ को निर्वाचनमा धरान–१७ बाट वडाध्यक्षमा निर्वाचित भई कार्यकाल पूरा गरेका र २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्य , धरानका राजनीतिक क्षेत्रमा सक्रिय, नगर खेलकुद समितिको वर्तमान संयोजक र धराने खेल जगतका अग्रज पथ प्रदर्शक सुवास राईको निधनले धरानको खेलकुद क्षेत्रमा ठुलो क्षति पुगेको नगर खेलकुद विकास समितिका सदस्य विकास चाम्लिङले बताए । राईको अन्त्येष्टि पनि आजै गरिने बताइएको छ ।