धरान : प्रत्येक वर्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले आयोजना गर्दै आएको हिसान स्पोर्टस् मिट यस वर्ष पनि सुरु भएको छ।
मंगलबार धरानको डिपो स्कुलमा एक कार्यक्रमको आयोजना गरी हिसान सुनसरीले बास्केटबल अन्तर्गत महिला तथा पुरुष टिमको खेल तालिका सार्वजनिक गरेको हो । यस वर्ष बास्केटबलमा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
यही पुस १५-१७ गते धरानको डिपो स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न हुने हिसान स्पोर्टस् मिट संयोजक सागर भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार खेल नकआउटका आधारमा हुने र विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उदयमान खेलाडी, हाइ स्कोरर, उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बास्केटबल खेल मेनेजर तथा बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए ।
पुरुष तर्फको खेलमा डिपो स्कुल, धरान आदर्श स्कुल, हिमालयन स्कुल, लोटस स्कुल, सियोन स्कुल, विष्णु मेमोरियल स्कुल, एम्स एकेडेमी, समिट स्कुल र विश्व आदर्श स्कुलले सहभागिता जनाएका छन् । त्यस्तै गरी महिला तर्फ हिमालयन स्कुल, विष्णु मेमोरियल स्कुल, धरान आदर्श स्कुल र डिपो स्कुलको टिमले प्रतिस्पर्धा गर्नेछन् । खेल सम्पन्न गर्न सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घले प्राविधिक सहयोग गरेका छन् ।
खेल तालिका सार्वजनिक कार्यक्रममा हिसान सुनसरी सचिव तथा हिसान स्पोर्टस् मिट संयोजक सागर भट्टराई, हिसान सुनसरी उपाध्यक्ष राजकुमार राई, सह कोषाध्यक्ष हेमन्त भण्डारी, हिसान बास्केटबल खेल व्यवस्थापक एवम् राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।
यसअघि नै इटहरीमा चेस र वक्तृत्वकला सम्पन्न भइसकेको छ भने अब बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, भलिबल, क्रिकेट, नृत्य, गायन, हाजिरी जवाफ प्रतियोगिताहरू सम्पन्न हुने हिसान सुनसरी सह कोषाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        