झापा : झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको हो।
स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको खेल तालिका तथा ट्रफी सार्वजनिक गरेको छ। ‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ वटा टोलीको सहभागिता रहने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष उज्वल दाहालले महिला खेलाडीलाई खेलकुदमा अघि बढाउने र युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगितामार्फत गौरादहमा महिला फुटबलको विकासका लागि नयाँ वातावरण निर्माण हुने अपेक्षा व्यक्त गरे।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक युवराज खड्काले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट लगायतका विधामा पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताले महिला फुटबलको विकासमा योगदान पुर्याउनुका साथै खेलकुदमार्फत लागूऔषधविरुद्धको अभियानलाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।








































































