धरान : रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठानले बास्केटबल प्रतियोगितासँगै अन्य सामाजिक गतिविधि पनि सञ्चालन गर्ने भएको छ ।
साथै संस्थालाई आत्मनिर्भर बनाउन अक्षय कोष बृद्धीलाई पनि प्राथमिकता दिने भएको छ । हाल प्रतिष्ठानको अक्षय कोषमा ३ लाख रुपैयाँ सङ्कलन भएको आइतबार भएको तेस्रो वार्षिक साधारण सभामा जानकारी दिइएको छ ।
धरान-१८ वडा कार्यालयको सभाहलमा भएको साधारण सभाले बास्केटबल प्रतियोगितालाई निरन्तरता दिँदै स्वास्थ्य शिविर, रक्तदान, साहित्यिक कार्यक्रम तथा बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने कार्य योजना पारित गरेको हो ।
प्रतिष्ठानका सचिव नारायणप्रसाद सुवेदीले धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बास्केटबल सङ्घ सुनसरी,बास्केटबल सङ्घ धरान र मेघा कलेजको सहकार्यमा ‘प्रदेशस्तरीय अन्तरविद्यालय मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता’को चौथो संस्करण सम्पन्न गरिएको जानकारी दिए।
बास्केटबल खेलप्रति उच्च रुचि र क्षमता भएका धरानका रेवाहाङ रुछेन्बुङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो। उनको स्मृतिमा नयाँ पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले बास्केटबल प्रतियोगिता सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष तथा रेवाहाङका बुबा रेवतीरमण राईले बताए।
प्रतिष्ठानलाई आर्थिक रूपमा बलियाे बनाउने उद्देश्यले आजीवन सदस्यता विस्तारलाई समेत अघि बढाइएको छ। अघिल्लो साधारण सभासम्म २० जना आजीवन सदस्य रहेकोमा यस पटक थप सात जना सदस्य थपिएपछि सङ्ख्या २७ पुगेको प्रतिष्ठानले जनाएको छ।
साधारण सभाको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले उद्घाटन गरे । कार्यक्रममा विशेष अतिथि पूर्व नगर प्रमुख तिलक राईले रेवाहाङको निधनबाट परिवारमा परेको शोकलाई सामाजिक सेवामा रूपान्तरण गर्न प्रतिष्ठान सफल भएको बताए।
विजयपुर हस्पिटलका सञ्चालक तथा सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका धरान संयोजक सिपी बजगाईँले प्रतिष्ठानका सामाजिक कार्यलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।






































































