धरान : परिवर्तनका लागि सामाजिक अभियानको दसौँ संस्करणको सामाजिक स्वास्थ्य शिविर आज १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परीक्षण भएको उक्त कार्यक्रम पाक्षिक रूपमा सञ्चालन हुँदै आइरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

बरालले भने 'बुवाआमाहरुको सु-स्वास्थ्यका लागि यो कार्यक्रम गरेका हौँ' । विगत ७ महिना देखि धरान-१ स्थित धरान मोडल कलेजमा आयोजना भइरहेको यो कार्यक्रम अभियानले वडा वडामा कार्यक्रम गर्ने अभियान अनुरूप यस पटक धरान-१८ मा आयोजना गरिएको हो । 

विशेष गरी ब्लड प्रेसर, सुगर र मुटु रोग सम्बन्धी जाँच गरिने यो क्लिनिक १८ नं. वडा कार्यालय, धरानको सहकार्यमा आज सम्पन्न भएको हो । जम्मा ६३ जना बिरामीहरूको स्वास्थ्य जाँच गरिएको उक्त कार्यक्रममा  वडावासी बुवा आमाका लागि ज्यादै लाभदायक भएको धरान १८ नं. वडाका अध्यक्ष नरेन्द्र कुमार राईले बताए । 

विशेष गरी मुटु र प्रेसरका बिरामीहरू सचेत हुनुपर्ने र आहार विहारमा ध्यान पुर्‍याउनु पर्ने डा. प्रशान्त साहले बताए । प्रतिष्ठान नजिक भएको वडा नं. १८ मा समेत बिरामीहरू सचेत नभएको पाइएकोले यो कार्यक्रमबाट बिरामीहरू स्वयम् समेत लाभान्वित हुने डा. साहले बताए ।  

अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अभियानकर्मी मोहन श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल, निशान नेपाल एवम् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी निशा श्रेष्ठको समेत सहभागिता रहेको थियो । कार्यक्रम समापनका अवसरमा वडा सदस्य जमुना त्रिखत्री मोक्तानबाट सम्पूर्ण आयोजकलाई धन्यवाद ज्ञापन गरिएको थियो ।