झापा : झापाको दमकमा जारी तिन दिने बृहत् स्वास्थ्य शिविरमा शनिवार दोस्रो दिन पनि सेवाग्राहीको चाप देखिएको छ। काठमाण्डौंको सेवा आफ्नै शहरमा पाएपछि सेवाग्राही पनि दङ्ग देखिएका छन्। विशेष गरी शिविरमा आएका मध्ये जन्मजात मुटु रोग भएकाहरूको सङ्ख्या भने अधिक देखिएको चिकित्सकले बताएका छन् ।
पुष ९ गते शुक्रवारबाट सुरु भएको शिविर पुष ११ गते आइतबार सम्म सञ्चालन हुने छ। दमक वडा नं ७ को कार्यालय परिसरमा भएको शिविरको दमक नगरपालिका, घुन्सा फाण्उडेसन र विपन्नका लागि स्वास्थ्य नेपाल संस्थाले शिविरको आयोजना गरेको हो। शिविरमा काठमाडौँबाट मुटु रोग विशेषज्ञ, बाल रोग विशेषज्ञका साथै अन्य चिकित्सकहरूले सेवा दिई रहेको आयोजक दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।
स्वास्थ्य शिविरमा आएका सेवाग्राहीले पनि आफ्नो स्वास्थ्य परीक्षणका लागि काठमाण्डौंसम्म पुग्नुपर्ने बाध्यता टरेको भन्दै सेवाको खुलेर प्रशंसा गरेका छन् । दमक वडा नम्बर २ बाट सेवा लिन आएका सेवाग्राही लक्ष्मी प्रसाद रिजालले यही सेवा लिन काठमाण्डौं जानुपर्दा समय र आर्थिक हिसाबले पनि महँगो हुने तर यही सेवा आफ्नै ठाउँमा पाउँदा आफू दङ्ग परेको बताए ।
स्वास्थ्य शिविरमा विशेष गरी मुटु सम्बन्धीका बिरामीलाई लक्षित गरी सेवा दिई रहेको घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन । फाउन्डेसनले पहाडका ग्रामीण भेगहरूमा पुगेर सेवा दिएको भए पनि मधेसका शहरहरुमा पनि सेवा दिनका लागि आफूहरूले दमक नगरपालिकामा शिविरको आयोजना गर्न इच्छा देखाएको उनले बताइन । यसमा नगरपालिकाले सहयोग गरेको भन्दै उनले दमक नगरपालिकालाई धन्यवाद समेत दिएकी छन् ।
विशेष गरी शिविरमा आएका मध्ये जन्मजात मुटु रोग भएकाहरूको सङ्ख्या भने अधिक देखिएको चिकित्सकले बताएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईले अहिलेसम्म शिविरमा आएका मुटु रोगी मध्ये जन्मजात मुटु रोगको समस्या भएकाहरू धेरै आएको जानकारी गराए ।
उनले भने,-"मुटुको भल्भ फेरेको, मुटुको भल्भ फेर्नुपर्ने बिरामी, बाइपास सर्जरी गर्नुपर्ने लगायतका बिरामी धेरै देखिएका छन् । अन्य कुनै नयाँ प्रकारको मुटु रोगी चाहिँ भेटिएको छैन ।” जन्मजात मुटु रोगको समस्या देखिने भनेको वंशाणुगत कारण पनि मुख्य हुने गरेको त्यसै गरी कुपोषण लगायत अन्य कारणले पनि मुटु सम्बन्धीका समस्याहरू देखिने गरेको डा. भट्टराईले बताए ।
शिविरमा मुटु, बाल रोगका साथै निःशुल्क अल्ट्रा साउण्ड लगायत अन्य धेरै विशेषज्ञ सेवा उपलब्ध रहेको र औषधि पनि विभिन्न कम्पनीहरुलेनै निःशुल्क उपलब्ध गराइरहेका छन् । जटिल रोगी तथा बिरामीहरूलाई काठमाडौँ बोलाएर निःशुल्क शल्यक्रिया गराउने सम्मका सेवा उपलब्ध गराइएको दमक नगरपालिकाले जनाएको छ।


































































