धरान : परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौँ संस्करण सम्पन्न भएको छ । 

धरान मोडल कलेजको प्राङ्गणमा शनिवार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलो अप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा कार्यक्रम हुँदै आइरहेको हो । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’ 

क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष्णु बरालले जानकारी दिए । उनका अनुसार फलो अप र नयाँ बिरामीहरूको स्वास्थ्य जाँच गरिसके पश्चात् उनीहरूलाई डा. साहले परामर्श पनि गरेका थिए । स्वास्थ्य परामर्शले बिरामीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न सहयोग गर्ने गरेको उनले बताए । 

अभियानले विशेष गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै क्लिनिक सञ्चालन गरेको हो । पाक्षिक रूपमा गर्दै आएको कार्यक्रम शनिवारका दिन गरिँदै आएको छ । धरान बाहेक विराटनगर, इटहरी लगायतबाट पनि क्लिनिकमा आउने गरेको सदस्य वर्षा अग्रवाल श्रेष्ठले बताइन् । उनका अनुसार अब भने धरानका वडा वडाहरूमा गई क्लिनिक सञ्चालन गर्ने योजना पनि बनाइएको छ । यसअन्तर्गत वडा वडाका ज्येष्ठ नागरिकलाई सेवा दिने उद्देश्य रहेको छ । 

क्लिनिकमा २० जना सम्म नयाँ बिरामीलाई जाँच गरिँदै आएको छ । त्यस्तै फलोअपमा रहेका अन्य बिरामीहरूलाई पनि जाँच गरिँदै आएको सदस्य त्रिभुवन बरालले जानकारी  दिए । ‘नयाँ २० जनालाई पहिलो प्राथमिकता दिन्छौँ, त्यसपछि फलो अप त जाँच भइहाल्छ’ उनले भने । विशेष गरी बीपी प्रतिष्ठानमा ज्येष्ठ नागरिकहरूलाई लाइनमा लागेर जाँच गर्न गाह्रो हुने भएकाले पनि यस्तो कार्यक्रम तयार गरिएको संयोजक विष्णु बरालले जानकारी दिए ।