धरान : नक्कली मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौँ पर्ने जग्गा हडप्ने प्रयास भएपछि जोगाउन आइतबार धरानमा बृहत् खबरदारी जुलुस निकालिने भएको छ । 

महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिले महेन्द्र क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी आइतबार धरानमा जग्गा बचाउका लागि वृहत् जुलुस निकाल्ने जानकारी दिएको हो । आइतबार बिहान ११ बजे वृहत् जुलुस निकाल्ने बताए । क्याम्पसको जग्गा कुनै पनि हालतमा भुमाफियालाई उपभोग गर्न नदिन जनजागरण अभियान अन्तर्गत जुलुस आयोजना गरिन लागेको संयोजक एवं पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले जानकारी दिए । 

आइतबार बिहान ११ बजे महेन्द्र क्याम्पस प्राङ्गणबाट जुलुस छाताचोक, सिंहदेवी चोक हुँदै भानुचोकमा पुग्ने बताइएको छ । पत्रकार सम्मेलनमा समितिका संयोजक कुमारबहादुर कार्कीले महेन्द्र क्याम्पसको जग्गा मात्रै नभएर धरानमा सर्वाजानिक सरकारी जग्गाहरू भू-माफिया लगायतका विभिन्न व्यक्तिबाट अतिक्रमण भएको बताए । 

धरानको चन्द्र संस्कृत मावि, पिण्डेश्वर विद्यापीठ, पब्लिक मावि फुस्रेलगायत अन्य शैक्षिक संस्थाहरूको पनि जग्गा अतिक्रमण भएको भन्दै ती अतिक्रमणमा परेका जग्गाहरूको पनि खोजी गर्न र सम्बन्धित संस्थाको हक भोगमा ल्याउन उनले संयोजक कार्कीले आह्वान गरे । 

पछिल्लो समय धरानमा सर्वाजानिक जग्गाहरू अतिक्रमण भइरहेको बताउँदै यसबारेमा सञ्चारकर्मीहरूले सम्बन्धित निकायको ध्यान केन्द्रित हुने गरी खोज पत्रकारिता गर्नुपर्ने बताउँदै संयोजक कार्कीले शैक्षिक संस्थाको जग्गा अतिक्रमण भएमा संस्थाको शैक्षिक एवं भौतिक विकासमा असर पुग्ने भएकोले सबै धरानवासीहरू माफियाविरुद्ध उभिन पनि आह्वान गरे ।

उनले भुमाफियालाई कुनै पनि हालतमा क्याम्पसको जग्गा भोग गर्न नदिने क्याम्पसको जग्गामा लोभिएको आँखा फुटाइदिने चेतावनी दिए । क्याम्पसको जग्गामा समितिको साथ रहने र महेन्द्र क्याम्पसका विद्यार्थीले कडा सङ्घर्ष गरेर नक्कली मोहीलाई तह लगाउने बताउँदै संयोजक कार्कीले भने -यो समिति दृढतापूर्वक लड्न हामीसँग नैतिक बल छ, त्यसैको आधारमा ती गलत तत्त्वलाई हामी परास्त गछौ  ।